तमोर–मेवा जलविद्युत आयोजनाको २२ प्रतिशत काम सम्पन्न,क्षमता बढेर १४५ मेगावाट पुग्यो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १३ । ताप्लेजुङस्थित तमोर–मेवा जलविद्युत आयोजनाले करिव २२ प्रतिशत काम सम्पन्न भएको बताएको छ ।
आयोजनाको प्रवद्र्धक संस्था स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक भानेन्द्रकुमार लिम्बूले आयोजनाका लागि आधारभूत संरचना तयार भइसकेको र अबको बढीमा अढाई देखि तीन महिनाभित्र आयोजनाका मुख्य संरचनामा ब्लास्टिङ सहितका कार्य हुने जानकारी दिनुभयो । आइतवार फुङलिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लिम्बूले अन्य कुनै कुराले आयोजनाको निर्माणमा अवरोध नपुगे २०८५ साल असोज २५ भित्रमा जलविद्युत उत्पादन हुनेगरी कामको गतिलाई तीव्रता दिईएको जानकारी दिनुभयो । सुरुमा तमोर र मेवाको पानी मिसाएर १२८ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने भनिएकोमा तत्काललाई तमोरकै पानीबाट १४५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न सकिने अवस्था रहेको छ लिम्बूले बताउनुभयो । आयोजनाको सुरुङमार्ग र पावरहाउसमा समेत साविक भन्दा केहि वरपर हुनेगरी संरचनाको आधार तयार भएपछि तमोरकै पानीबाट १७ मेगावाट विद्युत थप भई आयोजनाको प्रारम्भिक क्षमता १४५ मेगावाट पुगेको उहाँको भनाई छ । मेवाखोलाको पानी समेत मिसाएर आयोजना निर्माण गरेको खण्डमा आयोजनाको कुल क्षमता १५८ मेगावाट बढी हुने लिम्बूले जानकारी दिनुभयो ।
सुरुको डिजाइजनमा आमबोटे खोल्सी नजिक सुरुङ रहेकोमा त्यहाँभन्दा केहि माथि थाङने खोल्सा नजिकबाट ५ किलोमिटर लामो सुरुङमार्गमार्फत पानी प्रवाह भई गुँहेली नजिक रहेको पावरहाउसमा पानी झार्ने आयोजनाको तयारी छ । हाङदेवा कटहरेदेखि डेढ किलोमिटर हेडरेस पाइपमार्फत पानी ल्याउने र थाङ्नेखोला नजिकबाट सुरु हुने भूमिगत सुरुङमार्गमार्फत पानी गुँहेली क्षेत्रमा रहेको पावर हाउसमा खसाइने हुँदा तमोरकै पानीबाट १४५ मेगावाट क्षमता हुन पुगेको लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पावर हाउसको मुख्य संरचना भूमिगत भएपनि पावर हाउस भने बाहिरै हुने डिजाइन तयार भएको छ । पावर हाउस,इन्टेक लगायतका संरचनाका आधारभूत पूर्वाधार,मुख्य कार्यालय,कर्मचारी आवास भवन,कामदार आवास भवन सहितका संरचना पूरा भएको र आयोजनास्थलमा पुग्ने मुख्य सडक समेत ग्राभेल तहको पूरा भईसकेको उहाँले जानकारी दिनुभयो । आयोजनाका मुख्य कामहरुका लागि गर्नुपर्ने ब्लास्टिङको कार्यका लागि प्रकृया अघि बढेको र अबको अढाई देखि तीनमहिना भित्र उक्त कार्य समेत हुनेभएपछि सुरुङ मार्ग खन्न थालिने लिम्बूले जानकारी दिनुभयो । अडिट(पानी थिग्ग्रयाउने) र मुख्य सुरुङ मार्गको करिव ५–७ मिटर सुरुङमार्ग समेत निकाली सकिएको लिम्बूको भनाई छ ।
१७ मेगावाट बृद्धि सहित कुल १४५ मेगावाट क्षमताको आयोजनाको कुल लागत २६ अर्ब हुने र त्यसमध्ये बैंक तथा बित्तीय संस्थाको ऋण लगानी ७५ प्रतिशत अर्थात १७ अर्ब ६८ करोड हुने लिम्बूले जानकारी दिए । बाँकी २५ प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड स्वपूँजी(ईक्विटी) हुने छ । अहिलेसम्म भएका सबै संरचनाको काम स्वपूँजीबाट गरिदैं आएको समेत उहाँले जानकारी दिनुभयो । अन्य जलविद्युत आयोजना भन्दा यो आयोजना सस्तो दरमा हुने बताउँदै लिम्बूले आयोजनाबाट उत्पादन हुने विद्युतको प्रति मेगावाट लागत १८ करोड भन्दा कम हुने बताउनुभयो । आयोजनाका लागि सिद्धार्थ बैंक लिमिटेडको अगुवाइ र माछापुच्छ्रे बैंकसँगको समन्वयमा विभिन्न बैंकहरुले लगानी गर्नेगरी सम्झौता भईसकेको छ । सिद्धार्थ बैंक र माछापुच्छ्रे बाहेक कृषि विकास बैंक लिमिटेड,नेपाल एसबीआई बैंक लिमिटेड,ज्योति विकास बैंक लिमिटेड, आईसिएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगानी साझेदार बैंकको रुपमा रहने भएका छन् ।
आयोजना निर्माणका लागि २०८१ साल जेठ १० गते शिलान्यास भई कार्य प्रारम्भ भएको हो । स्पार्कले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको हो । २०८० साल असोज २४ गते स्पार्कले नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता(पिपीए)गरेको थियो । आयोजनाबाट उत्पादन भएको विद्युत मैवाखोलाको ढुङगेसाँघुस्थित विद्युत सवस्टेशनमा गरी राष्ट्रिय प्रसारण लाइनमा समाहित गरिने छ । विद्युत प्रसारण लाइनका लागि आईईईको कार्य सुरु भएको र भूमिगत तारबाट प्रसारण लाइनसम्म पुर्याउने प्राविधिक अध्ययन भइरहेको लिम्बूले जानकारी दिनुभयो । आफुले मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमसंग समेत भूमिगत तारबाट प्रसारण लाइनसम्म उत्पादित विद्युत पुर्याउने प्रयास भइरहेको बारे अवगत गराएको लिम्बूले जानकारी दिनुभयो ।