मैवाखोलामा अब घर नक्सा अनिवार्य,बनिसकेका पक्की तथा कच्ची घर अनिवार्य अभिलेखीकरण हुनुपर्ने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अब नक्सा पास गराएर मात्र घर बनाउन पाइने भएको छ । पालिकाले तयार गरेको विकास निर्माण मापदण्ड २०८२ जारी हुनुपूर्व निर्माण भएका घरहरु समेत अब पालिकाको अभिलेखीकरणमा आउनुपर्ने पालिकाले जनाएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार नक्सा पास स्वीकृति नलिई निर्माण भएका पक्की तथा कच्ची दुबै प्रकृतिका घर अभिलेखीकरण गर्नुपर्ने छ । अब निर्माण गरिने पक्की तथा कच्ची दुबै प्रकृतिका घरका लागि नक्सापास अनिवार्य गरिएको समेत प्रमुख प्रशासकीय अधिकृत गोम्देनले जानकारी दिनुभयो । घर अभिलेखीकरणका लागि जग्गाधनी प्रमाणपूर्जाको प्रति,नागरिकता प्रमाणपत्रको प्रतिलिपि,एकीकृत सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि,ब्लु प्रिन्ट नक्सा एकप्रति,मञ्जुरीनामा लिई घर तथा भवन अभिलेखीकरण गर्नुपर्ने भएमा नक्सावालाले सम्वन्धित वडाध्यक्ष वा तोकिएको सदस्यको रोहवरमा भएको मञ्जुरीनाको प्रति पेश गर्नुपर्ने हुन्छ ।
अभिलेखीकरणका लागि सम्वन्धित वडाको सिफारिस,पालिकाको विकास निर्माण मापदण्ड २०८२ अनुसारको साइड प्लान,ईलिभेसन र लोकेसन प्लान स्पष्ट भएको नक्सा,घर नक्सा र घरको फोटो,पालिकामा सूचिकृत डिजाइनरको नविकरण सहितको कागजात र चारकिल्ला प्रमाणित प्रतिलिपि सहितका कागजात हुनुपर्ने भएको छ । नयाँ भवन तथा घर नक्सा पासका लागि लालपूर्जा र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,कित्ता नम्बर स्पष्ट भएको नापी प्रमाणित नक्सा,डिजाइनर र नक्सावालाको हस्ताक्षर सहितको पास गरिने भवनको प्रस्तावित नक्सा,पालिकामा सूचिकृत डिजाइनरको नविकरण सहितको कागजात र विकास निर्माण मापदण्ड २०८२ बमोजिममा अन्य कागजात अनिवार्य चाहिने पालिकाले जनाएको छ ।