पुस १५ बाट ताप्लेजुङको खेजेनिममा ३ लाख राशीको प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय गोल्डकप सञ्चालन हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा पुस १५ गते १९ गतेसम्म प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय गोल्डकप सञ्चालन हुने भएको छ ।
फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमको आहालेटारमा प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका आयोजक मानाभरा युथ स्पोर्टिङ क्लवका संरक्षक रवीन साम्रा(विकास)ले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका बिजेताले नगद ३ लाख २ हजार ८२ र उपबिजेताले १ लाख ५२ हजार ८२ रुपैयाँ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा ८ टिमको सहभागिता रहने भएको छ । ताप्लेजुङका ७ र जिल्ला बाहिरको एक क्लव खेलमा सहभागी तय भएको समेत साम्राले जानकारी दिनुभयो । प्रतियोगितामा बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ । म्यान अफ द म्याच हुनेले नगद २ हजार ५ सय रुपैयाँका साथ प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट गोलरक्षक,सर्वाधिक गोलकर्ता,उत्कृष्ट डिफेण्डर र सर्बोकृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
ताप्लेजुङकातर्फबाट आयोजक मानाभरा युथ स्पोर्टिङ क्लव खेजेनिम,लालीगुराँस फुटबल क्लव सुरुम्खिम,सिँवा स्पोर्टिङ क्लव लिङखिम,नवप्रयास युनाईटेड क्लव हाङदेवा,प्रगतिशिल युथ क्लव लिङतेप,माछापोखरी फुटबल क्लव चाँगे र जनसेवा स्पोर्टिङ क्लव ढुङगेसाँघु सहभागी हुने भएका छन् । आमन्त्रिततर्फ धरानको मरिक फुटबल क्लवसंग कुरा भइरहेको र आमन्त्रित क्लव बारे पनि टुङ्गो लाग्न बाँकी रहेको साम्राले जानकारी दिनुभयो । मरिक फुटबल क्लव ताप्लेजुङको तेल्लोकमा मंसिर २९ गते सम्पन्न पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधि बिजेता पनि हो । ताप्लेजुङको फक्ताङलुङ क्षेत्रमा रहेका अलैंची सहितका नगदेवादी तथा सो क्षेत्रमा रहेका प्राकृतिक,धार्मिक तथा साँस्कृतिक पहिचानका क्षेत्रहरुलाई खेलकुदका माध्यमबाट प्रचार र प्रवद्र्धन गर्ने उद्देश्यका साथ गोल्डकपको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले यसपटकबाट प्रथम मानाभरा आमन्त्रित क्लव स्तरीय गोल्डकप सञ्चालन गर्न सुरु गरिएको साम्राले जानकारी दिए । मानाभरा,वाग्मा पोखरी, विश्व किराँत लिम्बूहरुको शीर उठाउने स्थल खाम्बुलिङहाङ्साम नाहाङ्मायक मन्दिर,जिन्दाक छ्योसाङ गुम्बा,गढीडाँडा ताप्लेजुङका धार्मिक पर्यटकीय क्षेत्र हुन् । त्यहाँ अन्छङ्बो,सबेन्हाङ, साम्रा र इङ्वासामहरुले राज्य गर्दा बस्ने थलो मानिदै आएको यक्चेयक डाँडा समेत मुख्य धार्मिक क्षेत्रको रुपमा रहेको छ। यी क्षेत्रहरु पर्यटन प्रवद्र्धनका हिसाबले अब्बल मानिए पनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमम रहेको यि क्षेत्रको प्रचार–प्रसार र भौतिक पूर्वाधारको विकासमा सबैको ध्यानाकर्षण गराउने उद्देश्यले समेत गोल्डकप सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ । यसअघि २०७५ सालको पुस १ देखि ७ गतेसम्म प्रथम मानाभरा महोत्सव सञ्चालन गरिएको थियो ।