उक्याप परिवारद्धारा बालमन्दिरका बिद्यार्थीलाई ज्याकेट प्रदान
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १४ । ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत बिद्यालयका बिद्यार्थीलाई फुङलिङ निवासी एक परिवारले न्यानो कपडा(ज्याकेट)बितरण गरेका छन् ।
फुङलिङ नगरपालिका वडा नं ५ बस्ने छोक्याला उक्यापको परिवारले करिव ७५ हजार मूल्य बराबरको ज्याकेट आइतवार बिद्यार्थीलाई प्रदान गरेका हुन् । छोक्यालाका श्रीमति दिकिला र छोरी फुटिलाले फरक क्षमता भएका बिद्यार्थी समेत अध्ययन गर्ने बाल मन्दिर आविका बिद्यार्थीलाई जाडोको समयमा राहत मिलोस् भनेर न्यानो कपडा बितरण गरेको जानकारी दिनुभयो । बिद्यालयका प्रत्येक बिद्यार्थीलाई एक–एक थान ज्याकेट बितरण गरिएको उक्याप परिवारले जनाएको छ । बिद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौड्यालका अनुसार बाल मन्दिरमा बिद्यालयमा फरक क्षमता भएका(सुस्त श्रवण र शारिरिक रुपमा अक्षम)बिद्यार्थी समेत अध्ययन गर्छन् । कोशी प्रदेशसभा सदस्य तथा कोशी सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोको उपस्थितिमा बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको हो । बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेर सामाजिक र पुण्यकारी काम गरेको भन्दै मेन्याङ्वोले उक्याप परिवारको सहयोगको सह्राना गर्नु भएको छ ।
फुङलिङ नगरपालिका वडा नं ४ को सिफारिस तथा प्रदेशसभा सदस्य मेन्याङ्वोको पहलमा बाल मन्दिर आधारभूत बिद्यालयमा खुल्ला ब्यायाम शाला समेत स्थापना भएको छ फुनपा वडा नं ४ ले जनाएको छ । वडाध्यक्ष दुर्गाबहादुर पालुङ्वाले बिद्यालयमा ब्यायामशाला स्थापनामा र बिद्यालयको हाता घेराबारामा सहयोग भएकोप्रति प्रदेशसभा सदस्य मेन्याङ्वोलाई आभार प्रकट गर्नु भएको छ । वडाध्यक्ष पालुङ्वाले आफुले वडापालिका क्षेत्रका बिद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि क्रमशःयोजना अघि बढाईरहेको दावी गर्नुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण पौडेलका अनुसार अहिले बाल मन्दिरमा अंग्रेजी माध्यमबाट समेत पढाई भइरहेको छ ।
प्रविधिमैत्री कक्षा सञ्चालन सुरु गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो । वडाध्यक्ष पालुङ्वाले चाँडै बाल मन्दिर सहितका बिद्यालयमा वडापालिकाकोतर्फबाट कोचिङ कक्षा सञ्चालनको तयारी गरिएको छ । कार्यक्रममा बिद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष शान्ति मादेन,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,पत्रकार महासंघका सचिव कृष्ण फुरुम्बो लिम्बू प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरी,दृष्टीबिहिन संघ ताप्लेजुङका अध्यक्ष नरसिंह थलङ सहितको उपस्थिति रहेको थियो ।