गत माघ १२ गतेको हुलदंगा सम्वन्धी मुद्दा: प्रतिवादी तीनैजनाले पाए सफाई
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ३ । गत बर्ष माघ १२ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा सुरक्षाकर्मी माथि आक्रमण गरी हुलदंगा गरेको भन्ने कसुरका प्रतिवादीलाई ताप्लेजुङ जिल्ला अदालतले सफाई दिएको छ ।
जिल्ला न्यायाधीस विकास श्रेष्ठको इजलासले २०८१ साल माघ २३ गते ताप्लेजुङ जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दाको सुनुवाई गर्दै कसुरका तीन आरोपितलाई सफाई दिने फैसला गरेको जिल्ला अदालतमा श्रेष्तेदार शम्मिकपुर शाहले जानकारी दिनुभयो । घटना २०८१ साल माघ १० गतेको हो ।
वादी नेपाल सरकार भई प्रदीप मादेन(नानी),लक्ष्मण भनिने लक्षुमन लिम्बू र चन्द्रसागर लिम्बू प्रतिवादी रहेको उक्त मुद्दाको सुनुवाई गर्दै अदालतले हुलदंगाको वारदात भएको देखिएपनि सो वारदात उल्लेखित प्रतिवादीहरुले के कसरी घटाएको हो ? निजहरु प्रत्येकको साथबाट के कस्तो हातहतियार बरामद भएको हो भन्ने तथ्य पुष्टी हुन आएको नदेखिदा आरोपित प्रतिवादीले कसुरबाट सफाई पाउने ठहर्ने फैसला सुनाएको छ ।
पाथीभरा(मुक्कुमलुङ)केवलकार निर्माण र त्यसपछि भएका घटनाक्रमसंग जोडिएका अन्य मुद्दाहरु भने सुनुवाईकै क्रममा रहेको बुझिएको छ ।