एमाले महाधिबेशन प्रतिनिधि छनौटका लागि ताप्लेजुङमा ६ गते मनोनयन दर्ता,निर्वाचन अघि सहमतिको प्रयास हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ४ । नेकपा एमालेको ११ औं महाधिबेशन प्रतिनिधिका चयनका लागि ताप्लेजुङमा मंसिर ६ गते मनोनयन दर्ता हुने भएको छ ।
एमालेको ११ औं महाधिबेशन प्रतिनिधि छनौट जिल्ला स्तरीय निर्वाचन समितिका संयोजक राजकुमार चुँडालका अनुसार मंसिर ६ गते बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारहरुलाई दरखास्त फारम बितरण गरिने छ । सोहि दिन बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता हुने भएको छ भने साँझ ५ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने भएको छ । मंसिर ७ गते बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्ममा उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने निर्वाचन समितिले जनाएको छ । उम्मेदवार बिरुद्ध उजुरी प्राप्त भए निर्वाचन समितिले सोहिदिन दिउँसो २ बजेभित्रमा छानबिन सकेर उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ ।
मंसिर ८ गते अपरान्ह ४ बजेसम्म उम्मेदवारहरुलाई नामावली फिर्ताको समय दिईएको छ भने सोहि दिन साँझ ५ बजे निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । मंसिर १३ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेगरी निर्वाचन समितिले कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचनअघि सर्वसम्मत रुपमा महाधिबेशन प्रतिनिधि चयन गर्न सहमतिको अधिकतम् प्रयास गरिने नेताहरुले बताएका छन् । ताप्लेजुङमा नेकपा एमालेका ७ हजार ९१ जना संगठित सदस्य रहेको नेकपा एमाले ताप्लेजुङका सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिनुभयो ।
संगठित सदस्यका आधारमा ६ जना खुल्लाबाट,४ जना महिलाबाट र दलित तथा युवा उमेर समूहबाट १–१ जना गरी ताप्लेजुङबाट १२ जना महाधिबेशन प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि छनोट गर्दा २०८२ चैतसम्म नवीकरण प्रमाणित सदस्यताको संख्या मुख्य आधार हुनेछ । यसपटक विशेष आरक्षण गरिएको ४० वर्षमुनिका युवा प्रतिनिधिका लागि मापदण्ड तोकिएको छ । युवा प्रतिनिधि बन्न २०८२ मंसिर १३ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्ने छ । यसका अतरिक्त पार्टी सदस्यता कम्तीमा ७ वर्ष पुगिसकेको हुनुपर्ने मापदण्ड बनाइएको छ । छनोट भएका प्रतिनिधिहरूको नाम,सदस्यता नम्बर,फोन नम्बर र फोटोसहितको विवरण मंसिर १५ गतेभित्र सम्बन्धित कमिटी प्रमुखले आधिकारिक रूपमा पठाइसक्नुपर्ने निर्णय केन्द्रीय संगठन विभागले यसअघि नै गरिसकेको छ ।