ताप्लेजुङको सिदिङ्वाका बिद्यालयमा अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २६ । ताप्लेजुङको सिदिङ्वाका बिद्यालयहरुमा अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम सुरु भएको छ ।
दैनिक जीवनमा काम लाग्ने तर नयाँ पुस्ताले बिर्सदै गएका मौलिक सीपहरुको जर्गेना गर्दै व्यवहारिक कक्षामा जोड दिन सिदिङ्वा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२।८३ बाट यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । पालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीका अनुसार अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम पालिकाका १२ वटा बिद्यालयमा लागु भएको छ । ६ भन्दा माथिको कक्षा सञ्चालन भएका आधारभूत र माध्यमिक बिद्यालयमा यो कार्यक्रम कार्यान्वयनमा रहेको बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रममा महिनामा ४ दिन पुराना र मौलिक सीपहरु बारेमा स्थानीय क्षेत्रका जानकारहरुबाट ज्ञान र सीप हस्तान्तरण गरिने छ । बुढाक्षेत्रीका अनुसार दैनिक जीवनमा प्रयोग हुने डोको,नाम्लो,मान्द्रो,राडीपाखी,थुन्से सहितका सामग्री कसरी निर्माण गर्ने भनेर यो सीपका जानकारहरुले नयाँ पुस्तालाई सिकाउने छन् । चोया कात्ने देखि गुन्द्री र गजेरा बन्नेसम्मका सीपहरु हस्तान्तरण हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम लागु भएका बिद्यालयमा बर्षमा ५ महिना उक्त सञ्चालन हुने छ । त्यसका लागि पालिकाले प्रति बिद्यालयले मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउँछ । सोहि रकम सीप हस्तान्तरण गर्न खटिने सहजकर्ताको पारिश्रमिकमा खर्च हुने गरेको बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
बिद्यालयले यसलाई अतिरिक्त क्रियाकलापको एक अंगको रुपमा उपयोग गर्न सक्ने पालिकाले विश्वास लिएको छ । हराउँदै गएको मौलिक सीप र परम्परा नयाँ पुस्तालाई हस्तान्तरण गरेर सीप जर्गेना गर्ने कार्यमा यस्ता कार्यक्रमले निकै ठूलो भूमिका निर्वाह गर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारी बताउँनुहुन्छ । लोप हुँदै गएका परम्परागत सीप र व्यवसायहरु,जर्गेना गर्नुपर्ने परम्परागत सीप र तिनको व्यवसायिकता र आधुनिकीकरण समेतलाई ख्याल गरी यस्तो कार्यक्रम सुरु गरिएको सिदिङ्वा गाउँपालिकाले जनाएको छ ।