मंसिर ७ बाट साँवामा अन्तर क्लव स्तरीय फुटबल,बिजेतालाई पुरस्कार देखि मायाको चिनोसम्म अलैंची दिईदैं
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २५ । अलैंचीको प्रवद्र्धन गर्न मंसिर ७ गते देखि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हुने दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका बिजेताले पाउने पुस्कार देखि मायाको चिनोसम्म अलैंची प्रदान गरिने भएको छ ।
आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिले दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका खेलाईने आमन्त्रित क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताका बिजेता,बिधागततर्फका बिजेता देखि अतिथिसम्मलाई मायाको चिनो दिँदा अलैंची प्रदान गर्ने भएको हो । फङ्फङ्देन झरना पर्यटन विकास समितिले मंगलवार फुङलिङमा पत्रकार सम्मेलनमार्फत मिक्वाखोला गाउँपालिकाको वडा नं ४ तेम्बामा हुने आमन्त्रित अन्तर क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो । फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेता हुने टिमलाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैंची पुरस्कार स्वरुप प्रदान गरिने छ । मंसिर ११ गते प्रतियोगिता सकिने र सोहि दिनको अलैंचीको चलनचल्तिको मूल्यलाई आधार मानेर सोहि परिमाण अनुसारको अलैंची प्रदान गरिने अध्यक्ष साँवाले बताउनुभयो ।‘पुरस्कार प्राप्तकर्तालाई कुनै झञ्झट हुन्न’अलैंची किन्न व्यवसायी कार्यक्रम स्थलमै आईपुग्नु हुन्छ’साँवाले भन्नुभयो ।
फङ्फङ्देन झरना पर्यटन विकास समितिका कोषाध्यक्ष सुकबहादुर साँवाले बिधागत पुरस्कार र अतिथिलाई दिने मायाको चिनो समेत यसबर्ष अलैंची नै रहने जानकारी दिनुभयो । बिधागत पुरस्कारको रकम निक्र्योल भईनसकेपनि बिजेताले प्राप्त गर्ने पुरस्कार रकमको आधारमा अलैंचीको परिणाम मापन गरिने कोषाध्यक्ष साँवाले बताउनुभयो । दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेला सम्पन्न गर्न १९ लाख ५० हजार १ सय १० रुपैयाँ बराबर आयव्यय हुने समितिले अनुमान गरेको छ । मिक्वाखोलाबासी,देशबिदेशमा रहेका दाता,स्थानीय जलविद्युत केन्द्रहरु,निर्माण व्यवसायी र मिक्वाखोला गाउँपालिका समेतको सहयोगमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ । सबैभन्दा मोटो रकम ५ लाख स्थानीय टेकबहादुर साँवाको परिवारबाट संकलन हुने लक्ष्य समितिले लिएको छ ।
समितिले कार्यक्रम सम्पन्न भएको केहि समयमै मेलालाई सहयोग गर्ने दाताहरुको समेत उपस्थितिमा सार्वजनिक सुनुवाई गरी आयव्यय विवरण सार्वजनिक गर्ने पत्रकार सम्मेलनमार्फत नै घोषणा गरेको छ । ताप्लेजुङ अलैंचीको राम्रो उत्पादन हुने जिल्लाको रुपमा परिचित छ । नेपालमै सबैभन्दा बढी अलैंची ताप्लेजुङले उत्पादन गर्छ । मिक्वाखोला गाउँपालिका पर्यटकीय सम्भावनाको क्षेत्र हो । नेपालकै सबैभन्दा अग्लो झरनामध्येको एकमा पर्ने फुङफुङ्गे झरना सहितका पर्यटकीय स्थलको प्रचारप्रसार,स्थानीय लघु उद्यम तथा परम्परागत उत्पादनको बजारीकरण,पर्यटनमैत्री क्षेत्रको विकास लगायतका बिषयलाई ध्यानमा राख्दै फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।