अलैंचीको मूल्य नाघ्यो प्रतिमन एकलाख
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २३ । ताप्लेजुङमा अलैंचीको मूल्य प्रतिमन(४० किलोग्राम) १ लाख रुपैयाँ नाघेको छ ।
कात्तिक तेस्रो साता आइतवार बजार खुल्दा सालाखाला अलैंचीको मूल्य प्रतिमन १ लाख रुपैयाँमा कारोवार भएको अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो । अलैंचीमा सालाखाला भन्नाले चलनचल्तिको भन्ने बुझिन्छ । रेग्मीले आइतवार गुणस्तरीय अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले कारोवार भएको जानकारी दिनुभयो । यहाँका अलैंची व्यवसायी कमल बरालले भने चलनचल्तिकै अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले आफुले खरिद गरेको जानकारी दिनुभयो । बरालका अनुसार शनिवार बजार खुल्दा ९६ हजार प्रतिमन रहेको अलैंचीको मूल्यमा अपरान्हबाट प्रतिमन २ हजार रुपैयाँका दरले बृद्धि भई ९८ हजार रुपैयाँ प्रतिमन पुगेको हो । आइतवार एकैदिन ४ हजार प्रतिमनका दरले अलैंचीको मूल्य बृद्धि भएको बरालले बताउनु भएको छ ।
असोज दोस्रोसातासम्म ८५ हजार प्रतिमन कायम रहेको अलैंचीको मूल्यमा एक महिनाको अन्तरालमा प्रतिमन १५ देखि १७ हजार रुपैयाँसम्म बृद्धि भएको देखिएको छ । नयाँ उत्पादनको सुरुमै ८० हजार प्रतिमनबाट कारोवार सुरु भएको अलैंचीको मूल्यमा यसबर्ष धेरै बृद्धि र थोरै गिरावट आउने गरेको देखिएको छ । अलैंचीको मूल्य अन्तराष्ट्रिय बजारले निर्धारण गर्ने हुनाले मूल्यमा उतारचढाव आउनु सामान्य जस्तै भइसकेको व्यवसायीहरु बताउँछन् । अलैंची व्यवसायी महासंघका अनुसार नेपालमा उत्पादित अलैंची भारतीय बजार हुँदै तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । उत्पादनको २ प्रतिशत हाराहारी मात्र स्वदेशमा खपत हुने र ९८ प्रतिशत अन्तराष्ट्रिय बजारमा पुग्ने गरेको व्यवसायीहरु बताउँछन् । ताप्लेजुङ नेपालमा सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको नामले परिचित छ ।