सिदिङ्वाले जग्गा भाडामा लिएर खेति गर्ने किसानलाई बार्षिक १ लाखसम्म अनुदान दिने,यस्ता छन् १५ निर्णय

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २२ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले जग्गा भाडामा लिएर खेति गर्ने किसानहरुबाट आबेदन माग गरी छनौट भएका कृषक तथा कृषक समूहलाई बार्षिक १ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ ।

१८२ औं गाउँ कार्यपालिका बैठकले जग्गा भाडामा लिएर खेति गर्ने किसानहरुबाट आबेदन माग गरी सम्वन्धित वडाबाट छनौट भएका किसानलाई जग्गा भाडावापत बार्षिक १ लाख रुपैयाँसम्म अनुदान दिने सहितका १५ वटा महत्वपूर्ण निर्णय गरेको पालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो । किसानलाई सहुलियत दरमा फलफूल तथा अन्नवाली बिरुवा उपलब्ध गराउन सिदिङ्वाले पालिकाको केन्द्र साब्लाखुमा जग्गा भाडामा लिएर नर्सरी केन्द्र समेत स्थापना गरेको छ । बैठकले पालिका कार्यक्षेत्र भएका बिभिन्न सहकारीले फिर्ता गर्नुपर्ने बचतकर्ता रकम मंसिर १५ सम्ममा फिर्ता गरिसक्न निर्देशन दिएको छ । बचतकर्ताहरुको बचत रकम मंसिर १५ सम्ममा फिर्ता नगर्ने सहकारीलाई आवश्य कानुनी कारवाहीका लागि प्रकृया अघि बढाउने पालिकाले निर्णय गरेको पालिका अध्यक्ष राईले बताउनुभयो । सिदिङ्वाले पालिका क्षेत्रबाट स्नातक तह वा सो भन्दा माथिल्लो तहमा अध्ययरत दलित समुदायका विद्यार्थीलाई आर्थिक सहायता प्रदान गर्न प्रस्ताव आवह्वान गरेको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि पालिका क्षेत्रका सबै बिद्यालयको अनुगमनलाई नियमित र प्रभावकारी बनाउने तथा विद्यालय तथा क्लवहरुलाई आवश्यक पर्ने खेलकुद सामग्री तत्कालै बितरण गर्ने निर्णय समेत भएको छ । पालिकाले स्वास्थ्य चौकी साब्लाखुमार्फत एमबिबिएस सहितको सेवा उपलब्ध गराउन भवन निर्माण,उपकरण खरिद र जनशक्ति व्यवस्थापन गर्ने,गाउँपालिकामा हुनेगरी इलाका प्रहरी कार्यालय र वडा नं २ सादेवामा अस्थायी प्रहरी चौकी माग गर्ने,सुरक्षित आवास कार्यक्रमका लागि जस्तापाता खरिद गर्ने तथा विद्यालयहरुका लागि ल्यापटप र डेस्कटप सहितका आवश्यक सामग्री खरिद गरी हस्तान्तरण गर्ने निर्णय समेत गरेको जनाएको छ । ३ नं वडा कार्यालय र साविक आङखोप ४ र ५ मा खेल मैदान,२ नं वडा सादेवा र ३ नं वडा आङखोपमा मन्दिर निर्माण तथा पालिका भरीका सबै टोल विकास संस्थालाई समुदायलाई बहुउपयोगी हुने प्रकृतिका टहरा निर्माणका लागि जग्गा प्राप्तिको प्रकृया सुरु गर्न पालिकाले सम्वन्धित निकायलाई निर्देशन समेत दिएको छ ।

पालिकाले पूर्व जनप्रतिनिधिहरुको अनुभव संगालेर पुस्तक प्रकाशन गर्न समिति गठन गरी तत्काल प्रकृया अघि बढाउने भएको छ भने गत असोज ३ गते संविधान दिवसका अवसरमा तय भएर विविध कारणले स्थगित भएको खेलकुद कार्यक्रम मंसिर १५ गतेका दिन गर्ने निर्णय गरेको छ । गाउँपालिका क्षेत्रभित्रलाई पूर्ण विद्युतीकरण अभियानलाई तीव्र बनाउँदै यसक्रममा बिभिन्न स्थलमा गाडिएका गुणस्तरहिन पोल हटाई सम्वन्धित निकायमा वैकल्पिक व्यवस्थाको माग गर्ने निर्णय समेत पालिकाले गरेको छ । मंसिर १६ गते पालिकाको वडा नं ६ स्थित निलगिरी मावि मेहेलेमा चालु आर्थिक बर्षको पहिलो चौमासिक अवधिको प्रगति विवरण बारे सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने निर्णय समेत पालिकाले गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

 

Similar Posts