ताप्लेजुङमा पटकाजन्य पदार्थ जफत गरी नष्ट,पटकाको प्रयोग तथा बिक्री हुन नदिन बिशेष अनुगमन सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २ । लुकाई छिपाई ताप्लेजुङ सदुरमुकाम फुङलिङ ल्याउन लागेको बिष्फोटक पदार्थ पटका ताप्लेजुङ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बिर्तामोडबाट ताप्लेजुङतर्फ आउँदै गरेको मे१ज१३८८ नम्बरको सुमो गाडीलाई पाथीभरा याङवरक गाउँपालिका वडा नं १ मेवाखा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बिभिन्न प्रकृतिका पटका फेला परेपछि जफत गरी नष्ट गरिएको हो । बस्नेतका अनुसार जफत गरिएको लसुने पटका एकसय थान,खोसार्ने पटका दुईसय प्याकेट र अन्य विविध प्रकारको पकटा २० प्याकेट नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयले यसअघि नै देखि आगलागी सहितका जोखिमको कारण पटका,भुइँचम्पा,आतिषबाजी सहितका बिष्फोटक पदार्थको बिक्री,प्रयोग र ओसारपसार नगर्न नगराउन आग्रह गर्दै आइरहेको छ । पटकाजन्य बिष्फोटक पदार्थ लुकिछिपी भित्रने आशंकामा प्रहरीले चेकजाँचमा कडाई गर्न थालेको छ भने पटकाको बिक्री तथा प्रयोग हुन नदिन आइतवारबाटै सुक्ष्म अनुगमनको कार्य थालिसकेको जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।