मैवाखोलाद्वारा कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा अनिवार्य उपस्थित हुन निर्देशन

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २४ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दसैँसहितका विदा समाप्त भइसक्दा पनि अनुपस्थित रहेका कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । सेवाग्राहीको दैनिक सेवासँग जोडिएका काममा अवरोध सिर्जना भएकोभन्दै गाउँपालिकाले अनुपस्थित रहने कर्मचारीलाई तोकिएको समयभित्र अनिवार्य उपस्थित हुने निर्देशन दिएको हो ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बिहीबार सूचना जारी गर्दै विदा सकिँदासमेत विभिन्न कारण देखाई हालसम्म कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई हाजिर (उपस्थित) हुन निर्देशन दिनुभएको हो । दसैँ विदा साथै बाढीपहिरोजस्ता विपतलाई दृष्टिगत गरी सरकारले उपलब्ध गराएको विदासमेत समाप्त भएकाले कर्मचारीले कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने अध्यक्ष वनेमले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
यस्तै अवरुद्ध सडक सञ्जालहरु पनि सञ्चालनमा आउन थालेको अवस्थामा कर्मचारीले अनिवार्य उपस्थित भएर कार्यालयको सेवा प्रवाह गर्न अध्यक्ष वनेमले अनुरोधसमेत गर्नुभएको छ । कार्यालयले प्रवाह गर्ने दैनिक सेवा अवरुद्ध हुँदा सेवाग्राहीले गुनासो गर्न थालेकाले जिम्मेवारीप्रति जवाफदेही बन्दै गाउँपालिका कार्यालयअन्तर्गत र मन्त्रालय तथा लोकसेवाबाट खटाइएका सबै कर्मचारीलाई तीन दिनभित्र उपस्थित हुन उहाँले निर्देशन दिनुभएको छ ।
त्यस्तै बाढीपहिरोका कारण रोकिएका गाउँपालिका कार्यालयसँग सम्बन्धित कामहरु पनि तत्काल अघि बढाउनुपर्ने भएकाले कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभएको छ । यता वर्षाका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भई यातायात सञ्चालन नहुँदा दसैँ विदामा गएका जिल्लाबाहिर टाढा–टाढा घर भएका कर्मचारीहरु समयमा आउजाउ गर्न नपाएका बताइएको छ ।