प्रजिअलाइ कोरोना देखिएपछि परिवार भित्रै मनाइयो प्रहरी दिवस
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३० । ताप्लेजुङ प्रहरीले ६५ औं प्रहरी दिवस प्रहरी कर्मचारी,अमर प्रहरी परिवार र पूर्व प्रहरी संगठनका पदाधिकारीको उपस्थितिमा मात्र मनाएको छ । सुरक्षाका सबै मापदण्ड अपनाएर जनप्रतिनिधि,कार्यालय प्रमुख र नागरिक समाजका अगुवाको उपस्थितिमा मनाउने गरी तयगरिएको कार्यक्रम जिल्ला सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना संक्रमण भएपछि सिमित उपस्थितिमा सम्पन्न गरिएको हो । जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले कोरोना प्रभावका कारण पत्राचार गरिएका महानुभावहरुलाइ सूचना जारी गरेर कार्यक्रममा नआइदिन आग्रह गरिएको बताउनुभयो । उहाँकै प्रमुख आथित्यतामा कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालयले बर्षभरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारी र अमर परिवारका सदस्यलाइ पुरस्कृत तथा सम्मान गरेको छ । पुरस्कृत हुनेमा इलाका प्रहरी कार्यालय दोभान र तेल्लोकका प्रहरी निरीक्षकद्धय मोहन थापा र अर्जुन पोखरेल,प्रहरी नायव निरीक्षकद्धय लोकराज अधिकारी र गुणराज बस्नेत,प्रहरी सहायक निरीक्षक दलबहादुर शेर्मा,प्रहरी हवल्दारद्धय सोम बान्तवा राई र सोममाया पाख्रिन तथा प्रहरी जवान त्रय रोशन पोखरेल,अशोककुमार चौधरी र बबिता दुलाल रहनु भएको छ । बिहीबार प्रजिअ चापागाँइलाइ कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला प्रहरी कार्यालय कार्यालयले सार्वजनिक सूचनामार्फत प्रहरी कर्मचारी,अमर प्रहरी परिवारका सदस्य र पूर्व प्रहरी संगठनका पदाधिकारी बाहेक अरुलाइ कार्यक्रममा नआइदिन आग्रह गरेको थियो ।