५० मेगावाट क्षमताको युनाईटेड मेवा जलविद्युत परियोजनाको सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । ५० मेगावाट क्षमताको युनाईटेड मेवा जलविद्युत आयोजनाको सुरुङ मार्गमा ‘ब्रेक थ्रु’भएको छ ।
करिव ५ हजार ३ सय मिटर सुरुङ मार्गको काम पूरा भएको युनाईटेड मेवा जलविद्युत आयोजनाका प्रोजेक्ट इञ्चार्ज आशिष केदेमले जानकारी दिनुभयो । उहाँका अनुसार सोमवार ४ हजार ८ सय १.२७ मिटर लामो पानी कुद्ने सुरुङ मार्गको काम पूरा भएको छ । यसअघि पानी थिग्ग्रयाउने ‘अडिट’सुरुङ मार्ग खनि सकिएको छ । ‘अब सुरुङ मार्गको सहित ब्लाष्टिङ पड्काएर गर्नुपर्ने परियोजनाका काम सकिएका छन्’ केदेमले भन्नुभयो । काम सुरु भएको करिव २५ महिनामा सुरुङ मार्ग सहितका आयोजनाको पूर्वाधारतर्फका अधिकाँस काम पूरा भएको र अब सर्किट सहितका कामहरु तीव्र रुपले अघि बढ्ने केदेमले बताउनुभयो ।
ताप्लेजुङको मिक्वाखोला र मेरिङदेन गाउँपालिका परियोजनाको प्रभावित क्षेत्र हो । मिक्वाखोलाको वडा नं १ र ३ आयोजनाको प्रभाव क्षेत्रमा पर्छन् । केदेमका अनुसार परियोजनाको पावर हाउस मेरिङदेन गाउँपालिकाको खाम्लुङमा रहने छ । पानी कुद्ने क्षेत्रमा मेरिङदेनकै थुकिमाबाट सुरुङ खनेर ‘अडिट’सुरुङ भने मेरिङदेनकै लिङतेपमा रहने केदेमले बताउनुभयो । २०७४ साल साउन १५ गते आयोजनाले विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको थियो ।
२०८१ साल भित्रै विद्युत निर्माण कार्य पूरा गरी परीक्षण प्रसारण गर्ने तयारी आयोजनाले लिएको छ ।‘हामी तत्कालै विद्युतमा लगानीका लागि आइपिओ प्रकाशन गर्ने तयारीमा छौं’केदेमले भन्नुभयो । युनाईटेड मेवा जलविद्युत परियोजनाबाट उत्पादन भएको विद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुस्थित नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय विद्युत प्रसारण लाइनमा समाहित हुने छ । ताप्लेजुङको मेवाखोलाको पानी उपयोग गरी युनाईटेड मेवा जलविद्युत परियोजना निर्माणाधिन छ । यो खोलाबाट १ सय ५८.७ मेगावाट क्षमताका ५ वटा जलविद्युत परियोजना सञ्चालनका लागि अनुमति प्रदान भइसकेको छ ।