मध्य मेवा जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गमा ब्रेक थु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३ । ७३.५ मेगावाट क्षमताको ताप्लेजुङस्थित मध्य मेवा जलविद्युत आयोजनाको मुख्य सुरुङमार्गमा ब्रेक थु भएको छ ।
आयोजनाको ५ हजार ८ सय ४३ मिटर लामो हेडरेस टनेल खन्ने कार्य पूरा भएको आयोजनाका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिनुभयो । मध्य मेवा जलविद्युत आयोजना मेवा डेभलपर्स लिमिटेडद्धारा प्रर्वद्धित जलविद्युत आयोजना हो । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका मुख्य प्रभाव क्षेत्र मानिएको मध्य मेवा जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्गको काम सकिएपछि आयोजना प्रमुख रवि मुल्मीले आयोजनाको हाईड्रोमेकानिकल,इलेक्ट्रोमेकानिकल तथा विद्युत प्रसारण लाइन सम्वन्धी कार्यहरु सम्पन्न हुने अवस्थामा रहेको बताउनुभयो । कम्पनीका प्रवन्ध सञ्चालक भानु पोखरेलले आयोजनाको मुख्य सुरुङ मार्ग सफलतापूर्वक सम्पन्न भएको र अन्य निर्माणका कामहरुको प्रगति समेत उल्लेख्य रहेकोमा अबको एकबर्षभित्रमा नै आयोजना सम्पन्न गर्ने दृढता प्रकट गर्नु भएको छ।
करिब १४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको मध्य मेवा अर्ध जलविद्युत आयोजना अर्ध जलाशययुक्त आयोजनाको रुपमा रहने छ । हेडवक्र्स साँवाको तेम्बामा र विद्युतगृह लप्सिबोटे मुनि रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् १०.७ किलोमिटर १३२ केभी डवल सर्किट प्रसारण लाइन हुँदै नेपाल विद्युत् प्राधिकरणको ढुङगेसाँघु सवस्टेनशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना रहेको छ । त्यसकालागि विद्युतगृह देखि प्रसारण लाइन सम्मको दुरीमा करिब ३६ वटा टावर निर्माण कार्य भइरहेको छ । जमिनको सतहबाट टावरको उचाइ न्यूनतम ३०.२६ मिटर तथा अधिकतम ३९.२६ मिटर हुने छ । आयोजनाको वार्षिक क्षमता ४३६.०९ गिगावाट आवर रहेको छ । पिक इनर्जी ७५.०२ गिगावाट आवर र ननपिक इनर्जी ६१.५९ गिगावाट आवर रहेको छ ।