कार्यालय तोडफोड र कागजात लगिएको घटना: शुक्रवारभित्र कार्यालय सञ्चालन नभए दशैंअघि तलवभत्ता दिन नसकिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २ । एक समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजात समेत लिएर गएको भन्दै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका कर्मचारीले दशैं अघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने घोषणा गरेका छन् ।

पालिकाका सम्पूर्ण कर्मचारीकोतर्फबाट बिहीबार जारी विज्ञप्तिमा दशैं अघि कुनैपनि भुक्तानी गर्न प्राविधिक र व्यवहारिक दुबै हिसावले कठिन रहेको अवस्था दर्शाउँदै यस कार्यबाट उत्पन्न हुने समस्याप्रति कर्मचारी जवाफदेहि हुन नसक्ने उल्लेख गरिएको छ । उनीहरुले अहिलेसम्म ठप्प रहेको कार्यालय सञ्चालनको वातावरण बनाउने कार्यमा सहजीकरण र समन्वय गरिदिन सरोकारवालालाई आग्रह समेत गरेका छन् । गत भदौ २५ गतेका दिन एक समूहले गाउँ कार्यपालिकाको कार्यालयमा तोडफोड गरी कार्यालयका सामग्री तथा अत्यावश्यक कागजात लिएर गएको दिनबाट नै कार्यालयको कामकाज ठप्प भएको कर्मचारीले सामुहिक हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामुहिक विज्ञप्तिमार्फत कर्मचारीहरुले असोज ३ गते शुक्रबारसम्ममा कार्यालय सञ्चालन नभएमा प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा,शिक्षकहरुको तलवभत्ता निकासा,हालसम्मको दायित्व सृजना भएको खर्च भुक्तानी,सडक हेरालुको पारिश्रमिक तथा साउन महिनाबाट हालसम्मको कर्मचारीको तलवभत्ता भुक्तानी गर्न साथै अन्य निकायमा पेश गर्नुपर्ने बार्षिक विवरण पेश सहितका कार्य हुननसक्ने उल्लेख गरेका छन् । समस्या समाधानका लागि भदौ २९ गते गाउँ कार्यपालिकाको बैठक समेत बसेर घटनामा संलग्नहरुको उचित पहिचान तथा आवश्यक कारवाहीका लागि लेखि पठाईएको भएपनि समस्या समाधान हुन नसकेको कर्मचारीहरुको भनाई रहेको छ ।

Similar Posts