ताप्लेजुङमा साँझ ६ देखि बिहान ६ बजेसम्म कर्फ्यु

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २६ । हुलदंगा,झडप र प्रतिकुल अवस्था सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै ताप्लेजुङमा बिहीबार साँझ ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले स्थानीय प्रशासन २०२८ को दफा ६(क)बमोजिम कर्फ्यु आदेश जारी गर्नु भएको छ । कर्फ्यु आदेश ताप्लेजुङ जिल्ला भरी जारी भएको छ । प्रशासन कार्यालयले पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम,पश्चिममा संखुवासभाको सिमानाबाट पूर्व,उत्तरमा मित्रराष्ट्र चीन तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम र पाँचथर जिल्लाको सिमानाबाट उत्तर यति चारकिल्ला भित्र कर्फ्यु आदेश लागु गरेको छ । यो अवधिमा कुनैपनि प्रकारको भेला जुलुस,प्रर्दशन,बैठक,घेराउ गर्न पाइने छैन ।
कर्फ्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारी साधनहरु एम्बुलेन्स,दमकल,शव बाहन,स्वास्थ्यकर्मी,सञ्चारकर्मी,मानव अधिकाकर्मी र कुटनीतिक नियोगका व्यक्तिहरुले आवतजावतका लागि प्रयोग गर्ने सवारी साधन लगायत अन्य आवश्यक सेवासंग सम्वन्धित परिचयपत्र तथा कागजातका आधारमा आवतजावतका लागि सुरक्षार्कीबाट सहजीकरण हुने समेत प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले बिहान १० बजेदेखि अहिले साँझ ५ बजेसम्म निशेधाज्ञा आदेश जारी गरेको थियो । साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्यु आदेश जारी भएको हो ।