लिजाको नतिजामा ताप्लेजुङमा मैवाखोला पहिलो

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ७ । स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्कन(लिजा)को आर्थिक बर्ष २०८०।८१ को नतिजामा ताप्लेजुङमा मैवाखोला गाउँपालिका पहिलो भएको छ ।

९ स्थानीय तहमध्ये सिदिङ्वा गाउँपालिका पुछारमा रहँदा सिदिङ्वा गाउँपालिका सहित जिल्लाको एकमात्र नगरपालिका फुङलिङ गरी दुई स्थान तहले सय पूर्णाङ्कमा ६० भन्दा कम अंक ल्याएका छन् । मैवाखोलाले ७९.७५ अंक प्राप्त गरेको छ । सिदिङ्वाले ५३.७५ अंक ल्याउँदा फुङलिङ नगरपालिकाले ५९.७५ अंक पाएको छ । उच्च अंक तालिकाको दोस्रोमा रहेको मेरिङदेन गाउँपालिकाले ७८.५ अंक पाएको छ । पाथीभरा याङवरक गाउँपालिकाले ७६.७५ अंक पाउँदा मिक्वाखोला गाउँपालिकाले ७५.५ अंक पाएको छ । सिरिजङ्गा गाउँपालिकाले ७१.२५ अंक पाएको छ भने फक्ताङलुङ गाउँपालिकाले ६६.७५ अंक पाएको छ । आठराई त्रिबेणी गाउँपालिकाले ६३ अंक पाएको छ ।

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने,आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ्य प्रतिश्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्याङ्न गर्ने गरिन्छ । शासकीय प्रवन्ध,संगठन तथा प्रशासन,बजेट तथा उयोजना तर्जुमा व्यवस्थापन,वित्तीय एवम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय जस्ता सूचकका आधारमा कार्य सम्पादनको परीक्षण गरी दिएको अंकका आधारमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नतिजा प्रकाशन गर्ने गरेको छ ।

Similar Posts