साउन महिनामा २ सय ८ जनाले पाए निःशुल्क रुपमा राहदानीको अनलाइन फारम भर्ने सेवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३ । चालु आर्थिक बर्ष २०८२।८३ को पहिलो महिनामा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले २ सय ८ जनालाई निःशुल्क रुपमा राहदानीको अनलाइन फारम भरिदिएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार साउन महिनामा कार्यालयको नागरिक सहयाता कक्षबाट ४ सय १० जनालाई कार्यालय प्रयोजनमा आवश्यक पर्ने निबेदन तथा आवश्यक कागजातको प्रतिलिपि निःशुल्क रुपमा उपलब्ध गराईएको छ । खड्काका अनुसार चालु आवको पहिलो महिनामा यहाँबाट ७ जनाको नावालक परिचयपत्र जारी भएको छ । आव २०८१।८२ को एकबर्षे अवधिमा ९५ जनाको नावालक परिचयपत्र जारी भएको थियो । चालु आवको पहिलो महिनामै ५ वटा हातहतियार तथा ३ वटा संस्थाको नविकरण भएको प्रशासन कार्यालयले जनाएको छ । साउन महिनामा प्रशासन कार्यालयमा अभद्र व्यवहारका २ वटा मुद्दा दर्ता भएका छन् ।
आर्थिक बर्षको सुरु महिनामा १ हजार १ सय १८ जनाले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा २६ जनाले विवरण सच्याउन निबेदन दिएका छन् । ४२ जनाले साउन महिनामा राष्ट्रिय परिचयपत्रको कार्ड बुझि लगेको प्रशासन कार्यालयले जनाएको छ । साउन महिनामा नयाँ नागरिकता लिने भन्दा नागरिकता प्रतिलिपि लिनेको संख्या बढी देखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार उक्त महिनामा ३ सय २३ जनाले नागरिकताको प्रतिलिपि लिदाँ २ सय ६२ जनाले भने नयाँ नागरिकता लिएका छन् । साउन महिनामा गैर आवासीय नेपाली नागरिकता,बैबाहिक अंगीकृत नागरिकता र जन्मको सन्तानलाई वंशजको आधारमा दिईने नागरिकता भने जारी नभएको समेत सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो ।