माथिल्लो तमोरको काम रोक्न माग गर्दै प्रदर्शन

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २ । ताप्लेजुङस्थित माथिल्लो तमोर जलविधुत आयोजना निर्माणस्थलमा स्थानीयले प्रदर्शन गरेका छन् । निर्माणाधीन आयोजनाको काम रोक्नुपर्ने माग गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शुक्रबार प्रदर्शन गरेका हुन् ।
याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी स्थलमा जबरजस्ती आयोजना निर्माण गर्न सुरु गरिएकोभन्दै प्रभावित क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अपर तमोर हाइड्रोपावर प्रभावित संघर्ष समिति नै गठन गरेर सुरुदेखि नै विरोघ गर्दै आएका हुन् । संघीय सरकारसहित विभिन्न निकायमा ज्ञापनपत्र र ध्यानाकर्षण पत्रमार्फत जलविधुत आयोजनाको काम रोक्नुपर्ने माग आएको संघर्ष समितिले जनाएको छ ।
मुन्धुमीस्थलको अस्तित्वमाथि क्षति हुने भएकाले विभिन्न ज्ञापनपत्र, ध्यानाकर्षण पत्र लगायतका माध्यममार्फत आयोजनाको काम रोक्न अनुरोधसहित माग गर्दा पनि काम नरोकिएकाले आन्दोलनमै उत्रन बाध्य भएको संघर्ष समितिका श्री लिङ्खिमले बताउनुभयो । शुक्रबार भएको आयोजनाको विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्नुहुँदै लिङ्खिमले शुक्रबारसमेत पाँच पटकसम्म निर्माण स्थलमै आयोजनाको विरोधमा प्रदर्शन गरिएको बताउनुभयो ।
उहाँले अब पनि निर्माणको कामलाई निरन्तरता दिएमा हालसम्म भई रहेको शान्तिपूर्ण आन्दोलनको स्वरुप परिवर्तन हुने चेतावनी दिनुभयो । स्वरुप परिवर्तनपछि हुने आन्दोलनबाट कुनै क्षति हुन पुगेमा सरकार र सम्बन्धित पक्षले बेहोर्नुपर्ने उहाँको भनाइ छ । यस्तै संघर्ष समितिका संयोजक बिरबल लिङ्खिमले पनि आयोजनाको काम नरोकिएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
याक्थुङ समुदायको मुन्धुमी क्षेत्र तथा स्थल भएकाले आयोजना निर्माण गर्न नहुने अडानसहित प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित हुँदै आएको लिङ्खिमको भनाइ छ । मुन्धुमी स्थलको अतिक्रमण गरी जलविधुत आयोजना निर्माण गर्दा मौलिक सभ्यता र संस्कृति मासिने भएकाले मुन्धुमीस्थलको संरक्षण गर्न आफूहरु लागिपरेको उहाँले बताउनुभयो ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका भई बग्ने तमोर नदीबाट तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको विधुत उत्पादन गर्नेगरी निर्माणको काम सुरु गरिएको हो । यता शुक्रबार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले गरेको विरोध प्रदर्शनमा सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए ।