मैवाखोलाद्धारा दलित सशक्तिकरणका लागि अध्यक्ष कोष कार्यक्रममार्फत झण्डै १२ लाख बराबरको सामग्री प्रदान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालन कार्यविधि अनुसार पालिका भित्रका दलित समुदायलाई करिव १२ लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरेको छ ।
मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार चालु आर्थिक बर्षमा दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालन कार्यविधि अनुसार ११ लाख ६४ हजार रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भएको हो । दलित समूहबाट आएको माग तथा वडाको सिफारिस अनुसार उक्त रकम बराबरको योजना तथा कार्यक्रम सञ्चानलन गरिएको पालिकाले जनाएको छ । पालिकाले वडा नं १ स्थित नवजागरण दलित समूहलाई नौमति बाजा दिएको छ भने समूहको सिफारिसमा वडा नं १ का ९ घर दलित परिवारले आफ्नो जीविकोर्पाजनसंग सम्वन्धित सामग्री पाएका छन् । यस्तै वडा नं २ स्थित प्रगतिशिल दलित समूहका १० घर परिवारले उन्ननत जातको बाख्रा लिएका छन् । वडागत रुपमा रहेको दलित समूहको सिफारिस तथा दलित घर परिवारको मागका आधारमा कार्यक्रम तय गरिएको पालिकाले जनाएको छ ।
वडा नं ३ स्थित माङमाया दलित समूहका १३ घर परिवारले आफ्नो दैनिक जीवनमा प्रयोग हुने सामग्री,आर्यआर्जनका कार्यक्रम पाएका छन् भने एकथान ब्राजिल मेसिन समूहले प्रयोग गर्नेगरि पालिकाले बितरण गरेको छ । वडा नं ४ का ३ घर दलित परिवारमध्ये २ घर परिवारलाई उन्नत जातको गाई तथा एक घर परिवारलाई नुहाउने कक्ष,शौचालय निर्माण सामग्री र केन्द्रीय विद्युत प्रसारण लाइनको विद्युत जडानका लागि वेयरिङ सुविधा प्रदान गरिएको पालिकाले जनाएको छ । वडा नं ५ का लालीगुराँस दलित समूहका ५ घर परिवारमध्ये २ घर परिवारले पाइप तथा ३ घर परिवारले ब्राजिल मेसिनको माग गरेकोले सोहि आधारमा उक्त सामग्री प्रदान गरिएको छ ।
पालिका अध्यक्ष वनेमका अनुसार वडा नं ६ बाट उक्त कार्यक्रमका लागि कुनै प्रस्ताव नआएकोले सामग्री बितरण गरिएन । पालिकाले दलित सशक्तिकरणका लागि अध्यक्ष कोष सञ्चालन कार्यविधि बनाएर कार्यक्रमलाई व्यवस्थित गरेको छ । प्रत्येक वडामा रहेका दलित घर परिवारलाई समूहमा आबद्ध गर्ने र सोहि समूहका रहेका सदस्यहरुको माग र वडाको सिफारिस अनुसार पालिकाले दलित सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।