ताप्लेजुङका ९ मध्ये ६ स्थानीय तहका ३४ पशु चौपायामा लम्पि स्किन संक्रमण पुष्टी

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २२ । ताप्लेजुङमा ९ मध्ये ६ स्थानीय तहका पशु चौपायामा लम्पि स्किनको संक्रमण देखा परेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार अहिलेसम्म ६ स्थानीय तहका ३४ पशुबस्तुमा लम्पि स्किनको संक्रमण पुष्टी भएको छ । दाहालका अनुसार अहिलेसम्म मिक्वाखोला,पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकाका पशु बस्तुमा लम्पि स्किनको संक्रमण देखा परेको छैन । यसबाहेक सिदिङ्वा गाउँपालिकाका २ पशुबस्तु,मेरिङदेनका १०,सिरिजङ्गाका ५,फक्ताङलुङका २,फुङलिङका ७ र आठराई त्रिबेणीका ८ पशुबस्तुमा लम्पि स्किनको संक्रमण पुष्टी भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर दाहालका अनुसार सुरुमा फुङलिङ नगरपालिकाको वडा नं १० फुरुम्बु र वडा नं ७ र ८ दोखुका केहि पशु चौपायामा लम्पि स्किन सम्वन्धी संक्रमणका लक्षण देखिएका थिए ।
देखिएका लक्षण र पशुपालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थानीय तहमा पुगी पशुको नमूना संकलन गरी परीक्षणका लागि पठाईएकोमा ६ स्थानीय तहका ३४ पशुबस्तुमा लम्पि स्किन संक्रमण पुष्टी भएको डाक्टर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्वन्धित स्थानीय तह,भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत जहाँ लम्पि स्किनको संक्रमण भेटिएको छ,त्यसलाई त्यही सिमित गरी थप बढ्न नदिनेगरी रोकथामका रणनीति अख्तियार गरिएको छ । अहिलेसम्म ४ हजार ७ सय ५० डोज लम्पि स्किनको संक्रमण बिरुद्धको खोप प्रदान भइसकेको समेत डाक्टर दाहालले जानकारी दिनुभयो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका चौंरीहरुमा लम्पि स्किन संक्रमण बारे नमूना संकलन गरिदैं ।