अपर तमोर जलविद्युत आयोजनाद्धारा सिस्नेखोलामा बेलिब्रिज जडान सुरु,बढीमा ४ दिन भित्रमा निर्माण सक्ने लक्ष्य

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २१ । अबको बढीमा ४ दिन भित्रमा निर्माण कार्य पूरा हुनेगरी ताप्लेजुङको फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिका जोड्ने सिस्नेखोला माथि बेलिब्रिज जडान कार्य सुरु भएको छ ।

२ सय ८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सिस्नेखोला माथि बेलिब्रिज जडान थालेको हो । अपर तमोर जलविद्युत आयोजनाका आयोजना संयोजक सम्झना क्षेत्रीका अनुसार अबको ३ देखि ४ दिन भित्रमा बेलिब्रिज निर्माण कार्य पूरा भई बेलिब्रिजमार्फत नै सवारी आवागमन सुरु हुने छ ।‘तीव्र गतिमा काम सुरु भएको छ’आयोजना संयोजक क्षेत्रीले भन्नुभयो । बेलिब्रिज करिव २७.५ मिटर लामो रहेको छ ।

सिस्नेखोलामा बर्षायामको समयमा सवारी आवागमन गर्न निकै कठिन हुने गरेकोमा अब बेलिब्रिज निर्माण कार्य पूरा भएपछि बाह्रैकाल सवारी आवागमन गर्न विगतमा देखिएको कठिनाई हट्ने जलविद्युत आयोजनाले विश्वास लिएको छ । अपर तमोर जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अनुसारका काम तीव्र गतिमा पूरा गर्ने लक्ष्य लिएको छ ।

Similar Posts