साउन २४ बाट हुने तेस्रो ताप्लेजुङ गोल्डकपको तयारी तिव्र

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ११ । आउँदो साउन २४ गते ३१ गतेसम्म ताप्लेजुङको फुङलिङमा हुने तेस्रो ताप्लेजुङ गोल्डकपको तयारी तीव्र पारिएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिले अस्थायी प्याराफिट निर्माणका लागि बाँसको खोजी थालेको छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले कम्तिमा २ हजार ५ सय देखि ३ हजार घनासम्मको छिपिएको माल बाँस खरिद गर्ने योजना रहेको जानकारी दिनुभयो । त्यसका लागि लाखेजात्रा सञ्चालन समितिले बाँस बिक्रेताहरुलाई ७ दिनको म्याद दिएर बिक्रीको आबेदनका लागि माग गरेको छ । बाँस बिक्रेताले लगाएको आबेदनमा परिणाम,आकार र गुणस्तर अनुसार जसको मूल्य कम हुनेछ,उसैमार्फत बाँस खरिद गर्ने योजनाका आधारमा बाँस बिक्रेताहरुलाई सूचना आवह्वान गरिएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो

। तेस्रो ताप्लेजुङ गोल्डकपस्थल भानुजन माविको हिलाम्मेपन हटाउन यसबर्ष मैदानमा दुबो रोपण गरिएको छ । दुबो सप्रिएपछि हौसिएको आयोजक लाखेजात्रा सञ्चालन समितिले मैदानस्थलमा रोपिएको दुबो संरक्षण र थपका लागि दिनहुँ रेखदेख तथा नियमन समेत गर्दै आइरहेको जनाएको छ । दुबो रोप्ने कार्यमा बिभिन्न संस्था तथा व्यक्ति गरी करिव १ हजार ५ सयले श्रमदान गरेका छन् । आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष शेर्पाले करिव डेढ महिना अवधि बाँकी रहेकोले यो अवधिसम्ममा गोल्डकपका सबै तयारी पूरा गर्नेगरि आयोजक तीव्र गतिमा कार्यस्थलमा खटिएको जानकारी दिनुभयो ।

अस्थायी बाहेक भानुजन माविमा स्थायी प्याराफिट समेत रहेको छ । अस्थायी र स्थायी प्याराफिटमा गरी करिव १२ हजार दर्शक आँट्ने क्षमताको प्याराफिट निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । ताप्लेजुङमा हुने यो फुटबल प्रतियोगिता पूर्वी पहाडी जिल्लामै सबैभन्दा बढी दर्शकले अवलोकन गर्ने ठानिएको छ । लाखेजात्राको अवसरमा २०२९ साल देखि विभिन्न नाम दिएर हुँदै आएको फुटबल प्रतियोगिता पछिल्ला बर्षहरुमा ताप्लेजुङ गोल्डकपका नामबाट खेलाईँदै आएको छ ।

 

Similar Posts