मैले कुटपिट होइन,प्रतिरक्षा गरेको हुँ: हाङगाम,हातपात हो की होईन,सिसि टिभी फुटेज हेरे थाह हुन्छ: थेबे

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ६ । कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेलाई आफुले हातपात नगरेको प्रतिक्रिया दिनु भएको छ ।

प्रेस युनियन ताप्लेजुङले शुक्रवार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हाङगामले‘फलानालाई ठीक पाछु भन्दै’हिडेंको बिषयमा आफुले सोधखोज गर्दा भनाभन भएको र सोहि क्रममा आफुले प्रतिरक्षा मात्र गरेको दावी गर्नु भएको छ ।‘खगेनसिंलाई ठीक पार्नु छ भन्दै हिड्छौं रे भाई,यो के भनेको मैले सोधें,उसले त्यो भन्ने को हो यहाँ ल्याउनुहोस् भन्दै ठूला कुरा गर्न थाल्यो’हाङगामले भन्नुभयो ।‘यही क्रममा दुई–चार थप्पड हान्नुभयो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री हाङगामले थप्पड त उसले पनि मलाई हान्यो होला भन्ने प्रतिक्रिया दिनुभयो ।

हाङगामले आफुसंगको भेटमा थेबेले केहि शंकास्द बस्तु बोकेको दावी गर्नुभयो । थेबेले बोकेको शंकास्पद बस्तु के हो भनेर छानबिन हुनुपर्ने समेत मन्त्री हाङगामले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतमले थेबेले बोकेको शंकास्पद बस्तुबारे जवाफ दिनुपर्ने मन्त्री हाङगामको भनाई छ । यो बिषयमा आफुले नेपाल सरकारका गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीसंग समेत कुरा गर्ने हाङगामले बताउनुभयो ।

घटनाका बेला त्यहाँ प्रहरीको एक क्यूआरटी टोली समेत रहेकोले प्रहरीले घटनाका बारेमा सुक्ष्म अनुसन्धान गर्नुपर्ने हाङगामको भनाई थियो । केहिदिन अघि फुङलिङस्थित दोबाटो छेउमा हाङगाम र थेबेबिच झगडा भएका खबर बाहिर आएका थिए । थेबे आफुप्रति सुनुयोजित रुपमा उभिएको हाङगामको दावी छ ।

यता थेबेले भने आफुमाथि कुटपिट भएको बताउँदै नजिकै रहेका स्थानीय र आसपासका सिसि टिभी फुटेज घटनाको अनुसन्धानका लागि काफी रहेको प्रतिक्रिया दिनु भएको छ ।‘छलफल र बहस हुन्छ,तर त्यही छलफलमा रहेको र वहालवाला मन्त्री भएको मान्छे कुटपिटमा उत्रनुलाई थेबेले न्यायोचित नभएको दावी गर्नु भएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री हाङगामले कोशी प्रदेश सरकारको उद्योग,कृषि तथा सहकारी मन्त्रालयबाट भइरहेका काम कारवाही र गतिविधि बारे पत्रकारलाई प्रष्ट्याउनु भएको थियो । मन्त्री हाङगामले प्रदेशको उद्योग र कृषि क्षेत्र सुधार्न आफुले उल्लेख्य पहलकदमी लिइरहेको बताउनुभयो । कफी खेतिका लागि यान्त्रिकमा व्यवस्थापन गर्ने,अलैंची खेति सुधारका लागि खेतिमा नयाँपन दिने देखि प्याकेजिङ र ब्राण्डिङमा आधुनिक शैली अपनाउने कार्यमा आफ्नो सार्थक पहल अघि बढिरहेको मन्त्री हाङगामको भनाई थियो । सहकारी समस्या समाधान गर्न आफ्नै मन्त्रालयमा रहेर समस्या समाधान निर्देशक समितिले काम गरिरहेको उहाँले बताउनुभयो ।

कोशी प्रदेशले ब्राण्डिङको रुपमा स्थापित गर्न खोजीरहेको स्थानीय मदिरा सम्वन्धी सुझाव निर्देशक समितिको प्रतिबेदनलाई संघीय सरकारले अड्काएर राखेको मन्त्री हाङगामले दुखेसो गर्नुभयो । एआईको जमानामा एआईप्रति मानिसको ध्यान केन्द्रित गर्दै यसलाई व्यवसायमुखी बनाउन आफुले नीति र लगानी दुबैमा ध्यान दिएको मन्त्री हाङगामले बताउनुभयो ।

आफु काँग्रेस महामन्त्री गगन थापाको चेलाको रुपमा रहेको बताउँदै उहाँले ‘कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर दुई लाख कमाउन सकिने’थापाको भनाई एआईका कारण गलत नरहेको भन्दै महामन्त्री थापाको भनाईको बचाउ पनि गर्नुभयो । आफु काँग्रेस सभापति शेरबहादुर देउवाको कोटाबाटै प्रदेश मन्त्री भएको समेत उहाँले पत्रकार सम्मेलनमा प्रष्ट्याउनुभयो ।

Similar Posts