खुकुरी प्रहार गरी युवकको हत्या, घटनामा संलग्न पक्राउ

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २१ । ताप्लेजुङमा धारिलो खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिका–३ का २८ वर्षीय तेजेन्द्र लिम्बूको खुकुरी प्रहरी गरी हत्या गरिएको हो ।
सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–६ उकालीपानीका ३२ वर्षीय अर्जुन गुरुङले खुकुरी प्रहार गरी लिम्बूको हत्या गरेका हुन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार मंगलबार बिहानको राति करिव १२ः४५ बजेतिर गुरुङले बाँया कोखामा खुकुरी प्रहार गरी लिम्बूको हत्या गरेका हुन् ।
लिङ्खिमको तावास्थित आफन्तको घरबाट श्रीमती सरीता लिम्बूलाई लिएर घर फर्कँदै गरेका गुरुङ दम्पतीलाई पु¥याउन आएका लिम्बूमाथि गुरुङले खुकुरी प्रहार गरेका प्रनाउ गौतमले जानकारी दिनुभयो । उहाँकाअनुसार लिङ्खिम र फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको सिमानामा पर्ने सिस्ने खोलामा आइपुगेपछि गुरुङले लिम्बूमाथि एकासी खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।
आफन्तकोमा गएर समयमा घर नफर्किएकोभन्दै श्रीमती सरीतालाई लिन गुरुङ आफैं तावा पुगेका थिए । तावास्थित आफान्तको घर पुगेपछि गुरुङले श्रीमतीसँग झगडा गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङ दम्पत्तीबिच झगडा भएपछि आफन्तले सम्झाइबुझाई घर फर्काएका र बिच बाटोमा पनि झगडा गर्नसक्ने आशंका गरी आफन्त खड्गबहादुर लिम्बूले छोरा तेजेन्द्रसहित तीन जनालाई उनीहरुलाई घरसम्म पु¥याउन पठाउनुभएको थियो ।
तेजेन्द्रमाथि खुकुरी प्रहार गरेपछि श्रीमती र अन्यलाई पनि गुरुङले आक्रमण गर्न खोजेका र अन्यले भागेर ज्यान बचाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ गौतमले जानकारी दिनुभयो । घटनापछि दुई वर्षीया नाबालिका छोरीसहित गुरुङ फरार भएका थिए । यता घटना घटाई फरार भएका गुरुङलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षक विवेक बस्नेत नेतृत्वको टोलीले फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको भिरकुना जंगलको ओडारमा लुकिछिपी बसेको अवस्थामा गुरुङलाई पक्राउ गरेको हो ।
नाबालिका छोरीसँगै खुकुरीसहित पक्राउ परेका गुरुङउपर कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै अनुसन्धान सुरु गरेकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाबालिकाको सकुशल उद्दार गरी आमा (सरीता) लाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक लिम्बूको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ पु¥याइएको छ ।