सडक किनारमा पसल तथा निर्माणका सामग्री नराख्न तथा पशुचौपायाको गोठ तथा खोर नराख्न मिक्वाखोलाको उर्दी

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १६ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले फुङफुङ्गे झरना आसपासको क्षेत्रमा सडकको दायाँबाँया दुईमिटर भित्र पसलका सामग्री र काठदाउरा सहितका निर्माण सामग्री राख्न प्रतिवन्ध गरेको छ । उसले सडकको ५ मिटर दायाँबाँया पशुचौपायाको गोठ तथा खोर निर्माण गर्न समेत प्रतिवन्ध गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले फुङफुङ्गे झरना आसपासको तेम्बा बजार क्षेत्रलाई दुर्गन्ध र अवरोधरहित बनाउन कार्यपालिकाको बैठकले गरेको उक्त निर्णय कार्यान्वयनमा ल्याउन सबैलाई आग्रह गर्नु भएको छ । कार्यपालिकाको बैठकले सडकको दायाँबाँया दुईमिटर भित्र पसलका सामग्री र काठदाउरा सहितका निर्माण सामग्री तथा सडकको ५ मिटर दायाँबाँया पशुचौपायाको गोठ तथा खोर निर्माण भएको भए जेठ मसान्त भित्र हटाई सक्न सम्वन्धितलाई समयावधि दिएको छ ।
समयावधि भित्र कसैले मोटरबाटो खाली नगरेको तथा सडकको ५ मिटर दायाँबाँया पशुचौपायाको गोठ तथा खोर नहटाएको पाईएमा पालिकाले आफैं हटाउने र सो वापत लाग्ने खर्च समेत सम्वन्धितबाट असुल उपर गर्ने निर्णय कार्यपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो । नेपालकै आर्कषक र मनोरम मानिने फुङफुङ्गे झरना क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमन बढ्दो छ । पालिकाले फुङफुङ्गे झरना आसपासका सडक किनारमा पशु चौपाया बाँध्ने,फोहोरहरु यततत्र फाल्ने जस्ता कारणबाट दुर्गन्ध फैलन थालेको जनगुनासो पछि कार्यपालिकाले उक्त निर्णय गर्दै कार्यान्वयनमा अग्रसर भएको बताएको छ ।