मिक्वाखोलामा असार १ गतेदेखि गोलियाको ढुवानी प्रतिवन्ध

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १५ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले बर्षायाम अवधिभर गोलिया काठको ढुवानी तथा ओसारपसारमा प्रतिवन्ध लगाउने निर्णय लिएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले असार १ गते देखि लागुहुने गरी अर्को सूचना जारी नभएसम्म पालिका क्षेत्रका सडकहरुमार्फत गोलिया काठको ढुवानी तथा ओसारपसारमा प्रतिवन्ध लगाईएको जानकारी दिनुभयो । बर्षायाममा गोलिया काठको ढुवानीले कच्ची सडकहरु अधिक मात्रामा भत्कने बिग्रने जोखिम भएकोले कार्यपालिकाले निर्णय गरी असार १ गतेबाट गोलिया काठको ढुवानी तथा ओसारपसारमा प्रतिवन्ध लगाईएको गौतमले जानकारी दिनुभयो ।
मिक्वाखोलाले गोलिया कटान वा घाटगद्दी गरेको भए जेठ मसान्त सम्ममा पालिका क्षेत्रबाट निकाली सक्न गोलिया काठ व्यवसायी तथा ढुवानीकर्तालाई आग्रह गरेको छ । कसैले निर्णय विपरित गरेमा कानुन बमोजिम कानुनी कारवाही गर्ने चेतावनी पनि मिक्वाखोलाले दिएको छ । यसअघि यहाँका फुङलिङ नगरपालिकाले र सिरिजङ्गा गाउँपालिकाले समेत बर्षायाम अवधिभर गोलिया काठको ढुवानी तथा ओसारपसार गर्न नपाइने निर्णय लिईसकेका छन् । फुङलिङले जेठ १५ बाटै तथा सिरिजङ्गाले जेठ १८ गतेपछि बर्षायाम अवधिभर गोलिया काठको ढुवानी तथा ओसारपसार गर्न प्रतिवन्ध गरेका छन् ।