ताप्लेजुङ जिल्ला अदालतद्धारा झण्डै ६० प्रतिशत मुद्दा फर्स्यौट

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङ जिल्ला अदालतले चालु आर्थिक बर्ष २०८१।८२ को बैशाख मसान्तसम्मा झण्डै ६० प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।
ताप्लेजुङ जिल्ला अदालतका सूचना अधिकारी विष्णुकुमार राईका अनुसार बैशाख मसान्तसम्ममा ५९.४४ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । राईका अनुसार यो अवधिसम्ममा अदालतमा ५ सय ३ थान मुद्दा छन् । तिमध्ये २ सय ९९ थान मुद्दा फर्स्यौट भएको छ । अदालतमा १ सय २७ थान मुद्दा अघिल्लो आवबाट चालु आवका लागि जिम्मेवारी सरी आएका थिए । चालु आवको बैशाख मसान्तसम्ममा ३ सय ७६ थान नयाँ मुद्दा दर्ता भए । जिम्मेवारी सरी आएका १ सय २७ मध्ये ९७ तथा नयाँ लगतका ३ सय ७६ मध्ये २ सय २ थान मुद्दा फर्स्यौट भएको अदालतले जनाएको छ । अदालतमा अहिले २ बर्ष नाघेका मुद्दा भने ७ थान रहेका छन् । १८ महिना देखि २ बर्ष भित्रका मुद्दाको संख्या ६ रहेको छ ।
अदालतले मुद्दाको फर्स्यौटका लागि १८ महिना ननघाउने नीति लिएको छ । सोहि अनुरुप १८ महिना देखि २ बर्ष भित्रका र २ बर्ष नाघेका गरी कुल १३ थान मुद्दाको फर्स्यौटलाई उच्च प्राथमिकतामा राखेर फर्स्यौट गर्ने नीति लिएको अदालतले जनाएको छ । बैशाख मसान्तसम्ममा फर्स्यौट गर्न बाँकी २ सय ४ थान मुद्दामध्ये ६ महिना भित्रका १ सय ३२ थान,६ महिना देखि एकबर्ष भित्रका ५४ थान र एकबर्षदेखि १८ महिना भित्रका ५ थान मुद्दा रहेका छन् । अदालतले चालु आवमा ६ महिना भित्रका १ सय ८४ थान,६ महिना देखि एकबर्षभित्रका ७९ थान,एकबर्षदेखि १८ महिना भित्रका २६ थान र १८ महिना देखि २ बर्ष भित्रका र २ बर्ष नाघेका ५–५ थान मुद्दा फर्स्यौट गरेको छ । जिम्मेवारी सरी आएका १ सय २७ थान मुद्दामध्ये ८० थान ६ महिना भित्रका,३१ थान ६ महिना देखि एकबर्ष भित्रका,४ थान एकबर्ष देखि १८ महिना भित्रका,९ थान १८ महिना देखि दुईबर्ष भित्रका र ३ थान दुईबर्ष नाघेका मुद्दा थिए ।