मैवाखोलामा सोमवारबाट स्कुल स्क्रिनिङ कार्यक्रम सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ५ । ताप्लेजुङको मेवाखोला गाउँपालिकाको आर्थिक साझेदारी तथा नेपाल नेत्रज्योति संघ ताप्लेजुङको आयोजनामा सोमवारबाट मैवाखोला गाउँपालिकाका बिद्यालयहरुका बिद्यार्थीको आँखा परीक्षण तथा उपचार सेवा सुरु भएको छ ।

पालिकाका सबै सामुदायिक बिद्यालयका बिद्यार्थीको आँखा परीक्षण,उपचार तथा चश्मा बितरण समेत हुनेगरी आँखा परीक्षण तथा उपचार सेवा सुरु भएको मैवाखोला गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख फुर्वा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार मैवाखोला गाउँपालिकाका सबै बिद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने छ । बिद्यालय आँखा परीक्षण तथा उपचार शिविरको पालिका अध्यक्ष विजयप्रकाश वनेमले उद्घाटन गर्नु भएको छ । पालिकाको केन्द्र वडा नं ३ स्थित नारायणी मावि साँघुबाट बिद्यालय आँखा जाँच कार्यक्रम सुरु भएको छ ।

सोमवार पहिलो दिन नारायणी मावि साँघुका ९५ छात्रा तथा ६० छात्र गरी कुल १ सय ५५ बिद्यार्थीको आँखाको परीक्षण गरिएको छ । परीक्षण गरिएका ९ मध्ये ९ जनालाई चश्मा बितरण गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आई वर्कर काजीमान थेबेले जानकारी दिनुभयो ।

मैवाखोला गाउँपालिकाले पालिकाका नागरिकलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्न यसअघि नै पालिकाका प्रत्येक वडाका समुदाय स्तरमा पुगी आँखाको परीक्षण तथा उपचार र रिडिङ चश्मा बितरण कार्य सम्पन्न गरिसकेको छ । पालिकाका प्रत्येक वडामा पुगेर गरिएको परीक्षणका क्रममा भेटिएका मोतियाबिन्दुका बिरामीलाई दोभान बजारमा सञ्चालित शल्यकृया सहितको निःशुल्क आँखा स्वास्थ्य शिविरमा ल्याएर मोतियाबिन्दुका बिरामीको आँखाको शल्यकृया गरिएको छ ।

शल्यकृया वापतको शुल्क समेत पालिका आफैंले व्यहोरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । बिद्यालय आँखा परीक्षण तथा उपचार सेवा संगै नेपाल नेत्रज्योति संघ ताप्लेजुङ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र र दोभान आँखा उपचार केन्द्रका प्राविधिकहरुले मैवाखोला गाउँपालिकाका प्रत्येक वडाका स्थानीय जनप्रतिनिधि,शिक्षक तथा स्थानीय बुद्धिजीवीहरुलाई आँखा स्वास्थ्य सेवाको प्राथमिक उपचार बारे सचेतनामुलक कार्यक्रम समेत गर्ने भएको छ ।

Similar Posts