बिद्यार्थीको नियमित उपस्थितिलाई प्रोत्साहित गर्न फुनपा–८ द्धारा बढी उपस्थित हुने बिद्यार्थीलाई नगद सहित सम्मान

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २७ । बिद्यालयमा बिद्यार्थीको नियमित उपस्थितिलाई प्रोत्साहित गर्न ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले बिद्यालयमा नियमित उपस्थित हुने वडाभरीका ७ वटै बिद्यालयका तीन–तीनजनालाई नगद सहित सम्मान गर्न थालेको छ ।

वडाले गत असार महिनामा शैक्षिक सम्मेलन गर्दै बिद्यार्थीको नियमित उपस्थितिमा सबैभन्दा बढीदिन बिद्यालयमा उपस्थित हुने प्रत्येक बिद्यालयका तीन–तीनजनालाई नगद सहित सम्मान गर्ने घोषणा गरेको थियो । शैक्षिक सम्मेलनको घोषणा कार्यान्वयन गर्दै नियमित र सबैभन्दा बढी उपस्थित हुने प्रत्येक बिद्यालयका तीन–तीनजनालाई नगद सहित सम्मान गर्न सुरु गरिएको फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । सुनुवार फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष समेत हुनुहुन्छ । उहाँका अनुसार यसको सुरुवात फुनपा–८ को पुछारक्षेत्र ल्याङ्वा टोलको यलम्बर आधारभूत बिद्यालयबाट सुरु गरिएको छ ।

बिद्यालयमा नियमित उपस्थित हुनेमध्ये सबैभन्दा बढी उपस्थित हुने बिद्यार्थीलाई नगद १५ हजार,दोस्रो उपस्थित हुनेलाई नगद १० हजार र तेस्रो बढी उपस्थित हुनेलाई नगद ५ हजार सहित सम्मान गर्ने घोषणा वडाले शैक्षिक सम्मेलनमार्फत गरेको थियो । अब वडाभरीका अन्य ६ वटै बिद्यालयमा बढी उपस्थित हुने तीनजना बिद्यार्थीलाई क्रमशःसमान नगद १५ हजार,१० हजार र ५ रुपैयाँ सहित सम्मानित गर्ने योजना रहेको सुनुवारले बताउनुभयो । फुनपा–८ मा ७ वटा बिद्यालय रहेको वडाले जनाएको छ । बिद्यालयमा बिद्यार्थीको नियमित उपस्थितिलाई प्रोत्साहित गर्न तथा पढाईप्रतिको रुचीको सम्मान गर्दै बिद्यार्थीलाई शैक्षिक सामग्री(कापी,डटपेन,पेन्सिल,झोला)मा समेत सहयोग पुग्ने हिसावबाट उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।

Similar Posts