प्रचलित कानुन विपरितका कुनैपनि कार्य सैह्य हुँदैनन् : डिएसपी गौतम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १८ । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले प्रचलित कानुन विपरितका कुनैपनि कार्य सैह्य नहुने बताउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको नयाँ प्रहरी प्रमुख भएर आएपछि यहाँका सञ्चारकर्मीसंग बिहीबार परिचयात्मक कार्यक्रममा डिएसपी गौतमले आफु शान्ति सुरक्षा र अमनचयन प्रदान गर्ने कुरामा रत्तिभर पछि नहट्ने बताउनुभयो ।‘बर्दी सहितका नागरिक प्रहरी र बर्दी बेगरका प्रहरी नागरिक भएकोले नागरिकसंगको सहकार्यमा शान्ति सुरक्षा सुव्यवस्थित बनाउन आफु प्रतिबद्ध रहने गौतमको भनाई थियो । उहाँले कानुन हातमा लिने अधिकार कसैलाई नभएको भन्दै शान्ति सुरक्षा र कानुन कार्यान्वयनमा कटिबद्ध रहने बताउनुभयो । जिल्लाको ट्राफिक व्यवस्थापन,सवारी आवागमनको सहजताका लागि आफुले सोचिरहेको डिएसपी गौतमको भनाई थियो । गौतम ट्राफिक प्रहरीको राम्रो अनुभव भएका व्यक्तिमा पर्नुहुन्छ । प्रहरी निरीक्षक हुँदा चितवनको भरतपुरमा उहाँले ट्राफिक इञ्चार्ज भएर काम गर्नु भएको थियो ।
आफुले जिल्लाका क्रियाशिल राजनीतिक दलका प्रतिनिधिसंग समेत जिल्लाको पछिल्लो अवस्था र सम्भावित चुनौति बारे छलफल गरेको गौतमले बताउनुभयो । सूचना प्रवाहमा आफ्नोतर्फबाट कुनै कञ्जुस्याँई नगर्ने प्रतिबद्धता व्यक्त गर्दै डिएसपी गौतमले क्षति न्यूनीकरण सहितका बिषयमा जिल्लाका आम नागरिक र सञ्चारकर्मीबाट सूचना आदान–प्रदानको अपेक्षा आफुले राखेको समेत बताउनुभयो । ताप्लेजुङको भूगोल ठूलो र भौगोलिक विकटता समेत रहेको अवस्था बारे आफुले जानकारी लिन थालेको उहाँको भनाई छ ।
विपद्का दृष्टीले ताप्लेजुङको सम्बेदनशिलता बारे अध्ययन गरिरहेको र तदनुरुपको व्यवस्थापनमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत बनेका अल्पकालिन र दीर्घकालिन योजना कार्यान्वयनमा आफु र मातहतका युनिट सक्रिय रहने उहाँको भनाई थियो । शान्ति सुरक्षा सम्झौताविहिन बिषय भएको उहाँले प्रष्ट्याउनुभयो । सञ्चारकर्मी र प्रहरीको साझेदारीमार्फत नागरिकलाई सुसूचित गर्ने बिषयमा आफु खुल्ला र प्रष्ट रहेको डिएसपी गौतमले बताउनुभयो ।
२०८० साल चैत १६ गते ताप्लेजुङको प्रहरी प्रमुख भएर आउनु भएका डिएसपी रवि रावलको सरुवा भएपछि गौतमले २०८२ साल बैशाख १७ गते ताप्लेजुङको नयाँ प्रहरी प्रमुखको रुपमा पदभार ग्रहण गरी जिम्मेवारी सुरु गर्नु भएको छ ।