खेति गर्नुअघि माटो,हावापानी,धरातलीय बनोट तथा रैथाने प्रजातिबारे विज्ञमार्फत अनुसन्धान गर्दै मैवाखोला

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १२ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले तरकारी तथा फलफूलको व्यवसायिक खेति गर्नुअघि माटो,हावापानी,धरातलीय बनोट तथा रैथाने प्रजातिबारे विज्ञहरुमार्फत अनुसन्धान गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले माटो सुहाउँदो खेति प्रणालीका लागि आवश्यकपर्ने सबै बिषयको विज्ञहरुमार्फत अध्ययनगरी प्राप्त प्रतिबेदनका आधारमा कृषिजन्य उपजको व्यवसायिक उत्पादनका लागि प्रकृया अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । वनेमका अनुसार सम्वन्धित किसान र विज्ञहरुहरुबिचमा छलफल गराई व्यवसायिक खेतिको सिफारिस गरिने छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार त्यसका लागि बैशाख १४ गते आईतवार सम्वन्धित विज्ञ र कृषि पेशामा आवद्धहरुकाबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम तय भएको छ । छलफलका लागि पालिकाले पालिकाका कृषक,कृषि सहकारी संस्थाका सञ्चालक र कृषक समूहका पदाधिकारीलाई आमन्त्रण गरेको छ ।
कृषि पेशालाई व्यवसायिक बनाउने तथा माटो सुहाउँदो खेति प्रणालीको विकास गर्ने उद्देश्य अनुरुप विज्ञ र कृषकबिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष वनेमका अनुसार कृषि पेशालाई निर्वाहमुखीबाट व्यवसायमुखी बनाउन तथा माटो र हावापानी सुहाउँदो उत्पादनका लागि किसानलाई प्रेरित गर्न खेति सिफारिस समेत गर्नेगरी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । किसानहरुले अहिलेसम्म लगाईरहेको वाली,उत्पादन तथा उत्पादकत्वको अवस्था,माटोको अवस्था,माटोमा देखिने अम्लियपन र त्यसको न्यूनीकरण जस्ता बिषयमा समेत विज्ञहरुमार्फत किसानका कुरा सुन्नेगरी अन्तरक्रिया कार्यक्रम आयोजना भएको पालिकाले जनाएको छ ।
मैवाखोला गाउँपालिका कृषि तथा पशुपालनका लागि बलियो सम्भावना रहेको क्षेत्र हो । तर,माटो सुहाउँदो खेति प्रणालीका लागि अवलम्बन गर्नुपर्ने रणनीतिको अभावमा त्यहाँको कृषि प्रणाली ‘निरन्तरतामा आधारित उत्पादन’केन्द्रित भइरहेको छ । बाबु–बाजेले अपनाएको खेति प्रणालीलाई वैज्ञानिक,समय,माटो र हावापानी सुहाउँदो खेति प्रणालीमा रुपान्तरण गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीमुखी बनाई कृषि क्षेत्रमा आर्थिक भबिष्य खोज्न विज्ञहरुको सल्लाह अनुसार खेति गर्ने अवस्थाका सृजनाका लागि यस्तो अध्ययन हुन लागेको हो ।