यसबर्ष कञ्चनजंघा हिमाल आरोहण अनुमति लिनेको संख्या उत्साहजनक,पछिल्लो डेढ महिनामा ४१ ले लिए अनुमति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ११ । यो बर्ष विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमाल आरोहण गर्न तयारी गर्नेको संख्या उत्साहजनक देखिएको छ ।
यो सातामात्र बिदेशी नेपाली सहित करिव दुई दर्जन हाराहारी आरोहणको तयारी स्वरुप कञ्चनजंघा आधार शिविरमा पुगेका छन् । अनुभवी आरोही निर्मला पूर्जा सहितका व्यक्ति अहिले आधार शिविरमौ रहेको त्यहाँ रहेका याम्फुदिनका पाञ्जो भोटियाले जानकारी दिनुभयो । पूर्जा विश्वका ८ हजार भन्दा अग्ला १४ हिमालको ६ महिना ७ दिनमा आरोहण गरेर विश्व किर्तिमान बनाउने आरोही हुनुहुन्छ । आरोहणका लागि चाहिने बन्दोबस्तिका सामान हेलिकोप्टरमार्फत धमाधम आधार शिविरतर्फ लैजान थालिएको छ ।
नेपाल सरकारको संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले १ मार्च २०२५ देखि २० अप्रिल २०२५ सम्ममा ४ समूहका ४१ जनाले आरोहणका लागि अनुमति लिएको बताएको छ । मन्त्रालयको वेवसाईटमा उल्लेख गरिए अनुसार अनुमति लिनेमा २६ पुरुष र १५ महिला रहेका छन् । अनुमति लिनेहरु कुन देशका नागरिक भन्ने चाँही खुलाईएको छैन । कञ्चनजंघा आरोहणका लागि अनुमति लिनेबाट सलामी दस्तुर(रोयल्टी)वापत सरकारले ७३ हजार ८ सय अमेरिकी डलर अर्थात् करिव १ करोड ९७ हजार ४ सय ६० रुपैयाँ असुल गरेको समेत उल्लेख गरिएको छ ।
सरकारले भारतीय सेनाका १० तथा नेपाली सेनाका १३ गरी कुल २३ जनालाई कञ्चनजंघा हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय समेत गरिसकेको छ । नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधवार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ‘जोईन्ट एण्डो–नेपाल माउन्टटेरिङ टु माउन्ट कञ्चनजंघा कार्यक्रम अन्तरगत कञ्चनजंघा हिमाल आरोहण गर्न लागेका नेपाली र भारतीय सेनालाई सलामी दस्तुर मिनाह गरिएको हो ।
प्राय बैशाख तेस्रो सातादेखि बैशाख दोस्रो सातासम्म कञ्चनजंघा हिमालको आरोहण गर्ने गरिएको छ । सन् १९५५ मे २५ तारेखमा दिन जर्ज ब्याण्ड र जो ब्राउनले कञ्चनजंघा हिमालको पहिलोपटक आरोहण गरेका थिए । कञ्चनजङ्घा हिमाल पश्चिममा तमोर नदी,उत्तरमा ल्होनाक चु र जोङ्सोङ् ला तथा पूर्वमा टिस्टा नदीद्वारा घेरिएको बताईन्छ ।