ताप्लेजुङमा चालु बर्षमा पूर्ण खोप सुनिश्चितता भएको चौथो पालिका बन्यो फक्ताङलुङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ ।

पालिका खोप समन्वय समितिका अध्यक्ष एवम् पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकालाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्नु भएको हो । पालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनेश भट्टराईका अनुसार माघ महिनाको १५ गते पालिकाको वडा नं ७ ओलाङचुङगोला तथा अन्य ६ वटा वडा चैत महिनामा पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गरिसकिएको छ ।

भट्टराईका अनुसार चैत २१ गते वडा नं ४ इखाबु,चैत २४ गते वडा नं ६ लेलेप,चैत २६ गते वडा नं ३ लिङखिम,चैत २८ गते वडा नं ५ तापेथोक र वडा नं १ सावादिन तथा चैत ३१ ग्ते वडा नं २ खेजेनिमलाई पूर्णखोप सुनिश्चित भएको वडा घोषणा गरिएको छ । सिँवा स्वास्थ्य चौकीका इञ्चार्ज प्रेमकुमारी लिम्बूका अनुसार १५ महिना सम्मका वडा नं १ सावादिनका २४ जना,वडा नं २ खेजेनिमका ५३ जना,वडा नं ३ लिङखिमका ३८ जना,वडा नं ४ इखाबुका २५ जनाले पूर्ण खोप पाएका छन् । यस्तै वडा नं ५ तापेथोकका २८ जना,वडा नं ६ लेलेपका २६ जना र वडा नं ७ ओलाङचुङगोलाका १ जनाले पूर्ण खोप पाएका छन् । यस्तै १६ महिना देखि ५९ महिना उमेर समूहका वडा नं १ सावादिनका ५६ जना,वडा नं २ खेजेनिमका १ सय ११ जना,वडा नं ३ लिङखिमका ९१ जना र वडा नं ४ इखाबुका १ सय २१ जनाले पूर्ण खोप पाएका छन् । उक्त उमेर समूहका वडा नं ५ तापेथोकका ८४ जना,वडा नं ६ ललेपका ७६ जना र वडा नं ७ ओलाङचुङगोलाका २ जनाले पूर्ण खोप पाएका छन् । दुबै उमेर समूहका गरी कुल ७ सय ३६ जनाले पूर्ण खोप पाएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कूलबहादुर पौडेलका अनुसार पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७१ अनुसार खोप पाउन योग्य उमेर समूहका कम्तिमा ९० प्रतिशत बालबालिकाले पूर्ण खोप पाएको अवस्थामा पूर्ण खोप सुनिश्चिता भएको पालिका घोषणा गर्न सकिने प्रावधान रहेको छ । चालू आर्थिक बर्षमा ताप्लेजुङमा सिदिङ्वा गाउँपालिका पहिलो पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा भएको थियो । दोस्रोमा आठराई त्रिबेणी,तेस्रोमा मैवाखोला र चौथोमा फक्ताङलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा भएको छ । फक्ताङलुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणासंगै पालिकामा रहेका ७ वटा स्वास्थ्य चौकी,प्रत्येक स्वास्थ्य चौकीका एक–एकजना खोप स्वास्थ्य कार्यकर्ता र प्रत्येक वडाका एक–एक जनाका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित पनि गरिएको छ ।

कार्यक्रममा पालिका अध्यक्ष लिम्बू,पालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु,स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेल,जनस्वास्थ्य अधिकृत भावना दुलाल,पालिकास्थित बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि एवम् स्थानीय स्वास्थ्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Similar Posts