हीरक महोत्सवभर राष्ट्रिय कलाकारको प्रस्तुति रहने

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३ । ताप्लेजुङमा आयोजना गरिएको कञ्चनजंघा हीरक महोत्सवभर राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने भएको छ । वैशाख ५ गते शुक्रबारदेखि ७ गते आइतबारसम्म सञ्चालन हुने तीन दिने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भएको हो ।
आयोजक कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अनुसार महोत्सवको उद्घाटन अर्थात पहिलो दिन राष्ट्रिय कलाकार मिलन नेवार, इन्जिनियर तथा गायक वीरेन्द्र श्रेष्ठ, पदम राई र हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहने छ । यस्तै दोस्रो दिन शनिबार पुष्पाञ्जली तिलिङ, कुशल थलङ, डेभिड शङ्खर र बालकलाकार रुक्साना लिम्बूले सांगीतिक प्रस्तुति दिनुहुने छ ।
महोत्सव समापनका दिन राष्ट्रिय कलाकार दीपक लिम्बू, मनु नेम्बाङ, पाल्मु शेर्पा र कञ्चन थलङको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूका अनुसार प्रीति थलङ, उत्सव सावा, पूर्णकुमार काम्बाङ, सोनिका तामाङ, सुमन कुरुम्बाङ लगायतका स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति पनि महोत्सवभर रहने छ ।
कञ्चनजंघा हिमालको चुचुरोमा मानव पाइला पुगेको अर्थात कञ्चनजंघा आरोहण भएको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गरिएको हो । कञ्चनजंघघा हीरक महोत्सव फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा आयोजना गर्न लागिएको छ । कञ्चनजंघा क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउने र जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले जनाएको छ ।