संविधानको व्यवस्था विपरित शिक्षा ऐन जारी नगर्न स्थानीय तहको सदन र सरकारलाई खबरदारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले नेपालको संविधानले स्थानीय तहलाई उपलब्ध गराएको आधारभूत र माध्यमिक शिक्षा सम्वन्धी एकल अधिकारलाई आत्मसाथ गरी संघीय शिक्षा ऐन जारी हुनुपर्ने बताएको छ ।
नगरप्रमुख अर्जुन मावोहाङले माध्यमिक तहसम्मको शिक्षाको नियमन,नियन्त्रण र व्यवस्थापनको दायित्व संविधानमै स्थानीय तहको एकल अधिकारको रुपमा रहेको स्मरण गराउँदै संविधानले दिएको व्यवस्था विपरित संघीय शिक्षा ऐन जारी हुनै नसक्ने जिकिर गर्नु भएको छ । नगरप्रमुख मावोहाङले बिद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुन नहुने भन्दै आम सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीलाई बिद्यालयमा फर्किएर दैनिक पठनपाठन क्रियाकलापमा समाहित हुन अपिल समेत गर्नु भएको छ ।
यता ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले शिक्षकहरुको जायज मागहरुको सम्बोधन हुने विश्वसनीय वातावरण तयार पारी शिक्षकलाई बिद्यालयका फर्काउने वातावरणमा ढिलाई गर्न नहुने बताउनु भएको छ । उहाँले आन्दोलनरत शिक्षक तथा कर्मचारीलाई लाखौं बालबालिकाको भबिष्यप्रति जवाफदेहि र जिम्मेवारवोध गर्न समेत अपिल गर्नु भएको छ ।