नापी कार्यालयले सार्वजनिक विदामा पनि सेवा प्रवाह गर्ने

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १ । नापी कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । नापी कार्यालयले एक सूचना जारी गर्दै २०८२ सालमा विभिन्न सार्वजनिक विदाको दिन कार्यालय खुल्ने र नियमित सेवा प्रवाह हुने जनाएको हो ।
नापी कार्यालय प्रमुख रजिता श्रेष्ठले आइतबार सूचना जारी गर्नुहुँदै २०८२ सालभर अर्थात बैशाख १ गतेदेखि चैत मसान्तसम्मका विभिन्न सार्वजनिक विदामा कार्यालय खुलाएर सेवा प्रवाह गर्ने उल्लेख गर्नुभएको छ । कार्यालय प्रमुख श्रेष्ठले जारी गर्नुभएको सूचनाअनुसार बैशाख २९ गते सोमबारको उभौली पर्व वा चण्डी पूर्णिमासहित विभिन्न १७ वटा सार्वजनिक विदामा नापी कार्यालयले सेवा प्रवाह गर्ने भएको छ ।
यस्तै जेठ १५ गते बिहीबार गणतन्त्र दिवस, भदौ १० गते मङ्गलबार हरितालिका तिज, असोज ६ गते सोमबार घटस्थापना (जमरा राख्ने दिन) र मङ्सिर १८ गते बिहीबार किराँत समुदायको उधौली पर्व वा धान्य पूर्णिमाको सार्वजनिक विदामा सेवा प्रवाह हुने छ । पुस १० गते बिहीबार क्रिसमस डे, पुस १५ बिहीबार तमू ल्होसार, पुस २७ गते बिहीबार पृथ्वी जयन्ती र माघ १ गते बिहीबार माघे सङ्क्रान्तिमा पनि नापी कार्यालयले सेवा प्रवाह गर्ने भएको छ ।
त्यस्तै माघ ५ गते सोमबार सोनाम ल्होसार, माघ १६ गते शुक्रबार सहिद दिवस, फागुन ३ गते आइतबार महाशिवरात्री, फागुन ६ गते बुधबार ग्याल्पो ल्होसार ७ गते बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसमा पनि सेवा प्रवाह हुने छ । यसैगरी फागुन २४ गते आइतबार मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस र इस्लाम धर्मावलम्बीको इद उल फिद्र तथा बकर इदजस्ता सार्वजनिक विदामा पनि नापी कार्यालयले सेवा प्रवाह गर्ने छ ।
नेपाल सरकारले प्रकाशित गरेको राजपत्रको भाग ५ अनुसार सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषेश व्यवस्था भएबमोजिम सार्वजनिक विदाका दिन पनि नियमित सेवा प्रवाह गरिने भएको कार्यालय प्रमुख श्रेष्ठले उल्लेख गर्नुभएको छ । सार्वजनिक विदाको दिन कार्यालयले प्रवाह गर्ने सेवाले सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।