सार्वजनिक शिक्षा सुधार अभियान: मैवाखोलामा आधारभूत तहको नतिजा सुध्रियो,सयबढीले कक्षा दोहो-याउनु पर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २९ । अघिल्लो शैक्षिक सत्रको आधारभूत तह(कक्षा ८) को परीक्षामा ५ जना मात्र बिद्यार्थी उर्तीण भएपछि सार्वजनिक शिक्षाको अभियान थालेको मैवाखोला गाउँपालिकामा यसपटक ७७ जना बिद्यार्थी उर्तीण भएका छन् ।
मैवाखोला गाउँपालिकाले शुक्रवार आधारभूत तह(कक्षा ८) को पालिका स्तरीय परीक्षाको नतिजा प्रकाशित गर्दै ३३.३३ प्रतिशत बिद्यार्थी उर्तीण भएको जनाएको छ । गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार यसपटक आधारभूत तहको परीक्षा सञ्चालन भएका कुनैपनि बिद्यालयमा निलमा गएनन् । यसलाई पालिकाले ‘खुसीको कुरा’भनेर प्रतिक्रिया दिएको छ । वनेमका अनुसार आधारभूत तहको परीक्षामा सहभागी २ सय ३१ जना मध्ये ४३ जनाले भने ग्रेडबृद्धि परीक्षा लेख्नुपर्ने भएको छ । पालिकाको तथ्याङक अनुसार नन्ग्रेड ल्याउने १ सय ११ जना परीक्षार्थीले भने कक्षा ८ को पढाईलाई दोहो-याउनुपर्ने भएको पालिकाका शिक्षा शाखा प्रमुख अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
पालिकाले दुई बिषयमा नन्ग्रेड ल्याउने ४३ बिद्यार्थीका लागि २०८२ साल बैशाख ११ गते नारायणी मावी साँघुमा परीक्षा हुने गरी मिति तय गरेको छ । पालिका अध्यक्ष वनेमका अनुसार गत शैक्षिक सत्रको परीक्षामा १ सय ८० जना परीक्षामा सहभागी भएकोमा ५ जना अर्थात् २.५ प्रतिशत मात्र उर्तीण भएका थिए । पालिकाले गत बर्ष झैं यसबर्षपनि पालिका केन्द्रित गरी भूगोलका आधारमा तीनवटा परीक्षा केन्द्रमार्फत परीक्षा गराएको थियो । प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका जाँचमा मैवाखोला भन्दा बाहिरका तर तालिम प्राप्त बिषयविज्ञलाई सहभागी गराईएको गाउँपालिकाले जनाएको छ ।
यसबर्षको आधारभूत तहको परीक्षामा सबैभन्दा राम्रो नतिजा गंगा आधारभूत बिद्यालयको रहेको छ । उक्त बिद्यालयबाट ६६.६६ प्रतिशत बिद्यार्थी उर्तीण भएका छन् । नारायणी मावि साँघुबाट ४६.६६ प्रतिशत,सरस्वती आधारभूत बिद्यालय चित्रेबाट ३३.३३ प्रतिशत,पार्टीडाँडा माविबाट ३२.५ प्रतिशत,सिंहराज मनरानी आधारभूत बिद्यालयबाट २१.४२ प्रतिशत,जनकल्याण माविबाट १९ प्रतिशत,महेन्द्र माविबाट १६.६६ प्रतिशत र मैवाखोला माविबाट ११ प्रतिशत बिद्यार्थी उर्तीण भएका छन् । पालिकाले आधारभूत तहको परीक्षामा अघिल्लो बर्षको लज्जाजनक नतिजामा ब्यापक सुधार आएको बताएको छ ।
पालिका अध्यक्ष वनेमले मेहनेत गर्दा नतिजामा समेत सुधार हुने रहेछ भन्ने प्रमाण यसपटकको नतिजाबाट देखिएको बताउनुभयो । अघिल्लो बर्ष आधारभूत तहको परीक्षामै लज्जाजनक नतिजा आएपछि मैवाखोला गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि वृहत्त शैक्षिक सम्मेलन,अभिभावक सचेतना कार्यक्रम,शिक्षकहरुलाई पेशागत दक्षता तालिम,शिक्षण सामग्री सहितको सिकाई प्रकृया सहितका माध्यमबाट सार्वजनिक शिक्षा सुधारको प्रयत्न गरिरहेको छ ।