पाँचौ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १२ । ताप्लेजुङ जिल्लास्तरीय पाँचौ मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला व्याडमिन्टन संघ ताप्लेजुङको आयोजनामा खेलाइएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
फुङ्लिङ नगरपालिकाको समन्वयमा खेलाइएको प्रतियोगितामा मेन्स डबल्स सिनियर्सतर्फ विकास तामाङ र लाक्पा शेर्पाको जोडी प्रथम भएको छ । रवीन साउदेन र सञ्जुहाङ साउदेनको जोडीलाई पराजित गर्दै तामाङ र शेर्पाको जोडी प्रथम हुँदै ट्रफीसहित २० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
उपविजेता बनेको रवीन र सञ्जुहाङको जोडीले १५ हजार रुपियाँ नगद पुरस्कार पाएको छ । यस्तै मेन्स डबल जुनियरतर्फ विकास थेबे र आशिष विष्टको जोडी प्रथम भएको छ । थेबे र विष्टको जोडीले डेबिट गुरुङ र रवीन सुनुवारको जोडीलाई पराजित गरेको छ । प्रथमले १६ हजार रुपियाँ हात पार्न सफल भएको छ । दोस्रो बनेको गुरुङ र सुनुवारको जोडीले १२ हजार रुपियाँ नगद पुरस्कार पाएको छ ।
यस्तै भेट्रान्सतर्फ गजेन्द्र थलङ र सन्तोष चोङ्बाङको जोडी प्रथम भएको छ । इन्द्रकुमार गुरुङ र किशोर राईको जोडीलाई पराजित गर्दै प्रथम भएको थलङ र चोङ्बाङको जोडीले १६ हजार र दोस्रो बनेको गुरुङ र राईको जोडीले १२ हजार रुपियाँ पुरस्कार पाएको छ । त्यस्तै कर्मचारी तथा जनप्रतिनिधिको प्रतिस्पर्धामा जनप्रतिनिधिले जितेको छ । जनप्रतिनिधि सोजित श्रेष्ठ र लक्षुमण घतानीको जोडी प्रथम हुँदै १६ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
दोस्रो बनेको नरेश महर्जन र युगमणि सबेहाङको जोडीले १२ हजार रुपियाँ प्राप्त गरेको छ । मेन्स सिंगलतर्फ मिलिन गुरुङ प्रथम हुनुभएको छ । उहाँले बसन्त गुरुङलाई पराजित गर्नुभयो । प्रथम मिलिनले १२ हजार दोस्रो बसन्तले आठ हजार ५०० रुपियाँ पुरस्कार पाउनुभएको छ ।
ओमेन्स सिंगलतर्फ भावनादेवी केदेम प्रथम र सरुना गुरुङ दोस्रो हुनुभयो । प्रथम केदेमले १२ हजार रुपियाँ र दोस्रो बन्नुभएकी गुरुङले आठ हजार ५०० रुपियाँ प्राप्त गर्नुभएको छ । यसैगरी १५ वर्ष मुनिको पुरुषतर्फ रुद्रबहादुर प्रथम र करण लिम्बू दोस्रो तथा महिलातर्फ रोस्नी लिम्बू प्रथम र निरिसा लिम्बू दोस्रो हुनुभयो ।
यता विजेतालाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, जिल्ला व्याडमिन्टन संघका अध्यक्ष सुरेश सिंघक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता गएको शनिबार सुरु भई मंगलबार सम्पन्न भएको हो ।