आधारभूत तहबाटै सिकाई सहजीकरण प्रभावकारी बनाउन पालिकाभरीका शिक्षकलाई मन्टेश्वरी तालिम

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ९ । आधारभूत तहबाटै सिकाई सहजीकरण प्रभावकारी बनाउने उद्देश्यले ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाभरीका वाल विकास केन्द्रका शिक्षकहरुलाई ६५ दिन लामो मन्टेश्वरी सिकाई तालिम दिएको छ ।

पालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सार्वजनिक शिक्षा सुधारका अभियानलाई व्यापक बनाउँदै आधारभूत तहबाटै सिकाई सहजीकरण प्रभावकारी बनाउन यस्तो तालिम दिईएको हो । ३ सय ९० घण्टे उक्त तालिममा पालिका भरीका वाल विकास केन्द्रका २६ जना शिक्षक सहभागी हुनुहुन्थ्यो । व्यवसायिक प्रशिक्षण केन्द्र ईटहरीको सहयोगमा पालिकाले उक्त तालिमको आयोजना गरेको अध्यक्ष वनेमले बताए । तालिमबाट प्राप्त ज्ञानलाई कक्षा कोठामा लगेर अधिकतम् उपयोग गर्ने विश्वास पालिकाले लिएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार तालिमले आधारभूत तहबाटै प्रभावकारी सिकाई केन्द्रित अध्यापन गराउन सहयोग पुग्ने मनशायले पालिकाले उक्त तालिम सञ्चालन गरेको हो ।

तालिमबाट प्राप्त सीपलाई सम्वन्धित शिक्षकले कक्षा कोठामा प्रयोग गरे नगरेको बारेमा नियमित अनुगमन गर्ने समेत पालिकाको तयारी रहेको छ । विगत केहि समय देखि मैवाखोला गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका अभियानहरु चलाईरहेको छ । मन्टेश्वरी शिक्षाले बालबालिकालाई अनुशासित जीवन बिताउन सिकाउनुका साथै सभ्य एवं मर्यादित बनाउने अपेक्षा गरिन्छ । यस्तै मन्टेश्वरी शिक्षामार्फत बालबालिकाहरूलाई आफ्नो प्रतिभा प्रस्फुटित गर्दै अघि बढ्न सहयोग गर्ने, बालबालिकाहरूको बौद्धिक विकासमा चुस्तता ल्याउने, बालबालिकाहरूको शारीरिक विकासमा सहयोगी भूमिका निर्वाह गर्ने, बालबालिकाहरूलाई समूहगत कार्य गर्न सिकाउने र सकारात्मक भावनाको विकास गर्न सहयोग गर्ने ठानिएको छ । मन्टेश्वरी तालिम लिएका शिक्षकहरुमार्फत उक्त अभियानलाई कक्षाकोठामा प्रभावकारी प्रयोग गरी सिकाई उपलब्धीमा सुधार आउने पालिकाको अपेक्षा रहेको छ ।

 

Similar Posts