फक्ताङलुङ गाउँपालिकाले पालिकाका बिद्यालयमा दुईबर्ष सेवा अवधि पूरा नगरी शिक्षकलाई सरुवा सहमति नदिने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ५ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाका पदस्थापन भएको दुईबर्ष अवधि नपुगेका शिक्षकहरुको सरुवा सहमति नदिने भएको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकाभरीका बिद्यालय व्यवस्थापन समिति र बिद्यालय प्रशासनलाई परिपत्र गर्दै पालिकामा पदस्थापन भएको दुईबर्ष अवधि पूरा नभएका शिक्षकको सरुवा सहमति नदिन आग्रह गर्नु भएको छ । पालिका अध्यक्ष लिम्बूले स्थानीय ऐनले निर्दिष्ट गरेको सर्त विपरित सरुवा सहमतिका लागि पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका कुनै प्रकार दबाब नदिन समेत सबैलाई चेतावनी दिनु भएको छ ।

रितपूर्वक कार्य अवधि पूरा भएका शिक्षकलाई समेत प्रत्येक शैक्षिक सत्रको अन्त्य र सुरु(चैत र बैशाख) महिनामा मात्र सहमति प्रदान गर्न सकिने बारे समेत पालिका अध्यक्ष लिम्बूले अवगत गराउनु भएको छ । उहाँका अनुसार पदस्थापन भएको पालिकामा दुईबर्ष कार्य अवधि पूरा गरी सरुवाका लागि सहमति माग गरेका शिक्षकहरुको हकमा समेत शैक्षिक सत्रको अन्त्य र सुरु(चैत र बैशाख) महिनामा मात्र सरुवा सहमति प्रदान गर्न सकिने छ ।

पालिकाले शिक्षा ऐननै बनाएर पालिकामा पदस्थापन भएका शिक्षकले कम्तिमा दुईबर्ष कार्य अवधि पूरा गरेपछि मात्र पालिका बाहिर सरुवा जान सरुवा सहमतिको प्रकृया आरम्भ गर्न सक्ने कानुनी प्रावधान समेतको प्रवन्ध गरिसकेको पालिका अध्यक्ष लिम्बूले बताउनु भएको छ ।

 

Similar Posts