ताप्लेजुङको फुलवारीका बासिन्दाद्धारा पानी माग्दै नदीमै पूजा

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३ । लामो समय देखि पानी नपरेर खडेरी बढ्न थालेपछि ताप्लेजुमा पानी माग्दै नदीमै पूजा गरिएको छ ।
आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका बासिन्दाले तमोर र काबेलीको संगमस्थल त्रिबेणीघाटमा नदीमै पूजा गरी बर्षा र सहकालका देवता मानिने ‘इन्द्र भगवान’को पूजा गरेका छन् । त्रिबेणी घाटलाई तमोर नदी,काबेली नदी र नाबु खोलाको संगमस्थल मानिन्छ । पहिला त्रिबेणी घाट भनिने उक्त क्षेत्रमा अहिले नाबु खोलाको अस्थित्व कम हुँदै गएको छ । पञ्जैबाजा सहित भेला भएका स्थानीयले बोकाको बली दिदैं पानी मागेका हुन् ।
लामो समयसम्म खडेरी परेको बेला इन्द्रको पूजा गरी पानी माग्ने प्रचलन अनुसार स्थानीयवासी मिलेर नदीमै पूजा गरी पानी मागेको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङले जानकारी दिनुभयो । उहाँका अनुसार पूजामा स्थानीय ६२ घरपरिवारका सदस्य सहभागी थिए । ग्रामीण क्षेत्रमा पानी परोस् भन्ने कामना गर्दै कतै भ्यागुताको विवाह गराउने,कतै जलधारा गर्ने त कतै नदी तथा खोला किनारमा पुगेर सन्सारीमाईको पूजा अर्चना गर्ने प्रचलन रहेको छ ।
पानीको अभावमा खेतवारीमा लगाएको अन्नबाली सहितका खेतिक्षेत्र सुक्न थालेको,खडेरीले आगलागी सहितका भय बढाएको,थप बाली लगाउने क्षेत्रमा खडेरीले बाली लगाउन नसकिने अवस्था आएकोमा चिन्ता व्यक्त गर्दै फुलवारीका बासिन्दाले पानी माग्दै खोला पूजा गरेको बताएका छन् ।