२१५२ औं ग्याल्पो ल्होसारको अवसरमा ताप्लेजुङमा निकालियो सद्भाव र्याली

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २४ । २१५२ औं ग्याल्पो ल्होसारको अवसरमा हिमाली जिल्ला ताप्लेजुङमा सद्भाव र्याली निकालिएको छ ।
नेपाल शेर्पा संघ,नेपाल शेर्पा बिद्यार्थी संघ,शेर्पा सञ्चार समूह नेपाल र हिमालयन् शेर्पा साँस्कृतिक केन्द्रको अगुवाईमा कार्यक्रम भएको हो । कार्यक्रममा बिभिन्न जातजाति तथा धर्म समुदायका व्यत्तित्वहरु समेत सहभागी छन् । नेपाल शेर्पा संघ ताप्लेजुङका अध्यक्ष पासाङरिता शेर्पाले सद्भाव र्यालीपछि होटल जन्नुइनको सभाहलमा शुभकामना आदान–प्रदानको कार्यक्रम राखिएको जानकारी दिनुभयो । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा समुदायले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य समुदायले पनि मनाउने गर्दछन् ।
ल्होसार अथवा नयाँ साल आउनु भन्दा २–३ दिन अगाडि घर, आगन र सार्वजनिक क्षेत्र सफा गर्ने परम्परा रहेको छ । ल्होसारका अवसरमा गुथुक(अर्थात् नौ प्रकारका गेडागुडी जस्तै मकै,भटमास,केराउ,चना, मुला, चामल आटा आदि मिसाई बनाइएको एक परिकार) परिकार परिवार तथा समाज र समुदाय मिलेर खाने गरिन्छ । यो खाना सर्वप्रथम भगवानलाई चढाएपछि मात्र खानुपर्छ भन्ने परम्परा पनि छ ।
गुथुक खाइ सकेपछि पुरानो साललाई विदाइ गर्दै नयाँ सालको पहिलो दिन विहान सवेरै चराचुरुङ्गी अथवा कोही पनि नउठी पानी पधेरामा गई हातमुख धोइ पानी लिन जाने र पानी लिने धारामा पूजा गरी धारामा करक्याङ(घ्यू),खादा र धुपले पूजा पाठ गरी ल्याएको चोखो पानी भगवानलाई चढाउने र पुजापाठ गरी सकेपछि प्रसाद भगवानलाई चढाउने गरिन्छ । त्यसपछि घरका ठूलावडाबाट आशिर्वाद लिइ चिया,खप्सा लगायत प्रसाद खाने र घर परिवारमा तथा समाजका एकआपसमा रमाइलो गर्ने चलन छ । ल्होसारमा अशुद्धलाई चोख्याउनको लागि नयाँ सालको पहिलो दिन धुपवत्ती बाली साङ सेरङिम् पुजा पनि गर्ने चलन छ ।