| |

सिदिङ्वाका चारवटा वडा पूर्ण खोप सुनिश्चित घोषणा

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका चारवटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । गाउँपालिकाका सातमध्ये वडा नं ५ लिम्बुदिन, वडा ७ सुरुम्खिम, वडा २ सादेवा र वडा ६ मेहेलेलाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार लिम्बुदिन र सुरुम्खिमलाई मंगलबार एकैदिन पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बू लगायतका जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रमा कार्यरत स्वाथ्यकर्मी लगायतका जनशक्तिको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
यस्तै वडा ७ सुरुम्खिमलाई पनि वडाध्यक्ष लक्षुमण तामाङसहित अन्य जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका जनशक्ति लगायतको उपस्थितिमा खोप सुनिश्चित वडा घोषणा गरिएको हो । वडा २ सादेवालाई सोमबार गाउँपालिका अध्यक्ष मानबहादुर राईसहितको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मेहेलेलाई पनि सोमबार नै वडाध्यक्ष रत्नकुमार लिङ्देन लगायतको उपस्थितिमा पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार शाहका अनुसार लिम्बुदिनमा रहेका १५ महिनाभित्रका २० जना शिशु र १६ देखि ५९ महिनाका ८५ जना बालबालिकालाई आवश्यक सबै खोप लगाएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । त्यस्तै सुरुम्खिममा १५ महिना सम्मका २२ र १६ देखि ५९ महिनासम्मका ८५ जना बालबच्चालाई खोप लगाइएको छ ।
यसैगरी सादेवामा १५ महिनाभित्रका नौ र १६ देखि ५९ महिनाका ४४ जना बालबालिकाले पूर्णखोप लगाएका छन् । मेहेलेमा पनि १५ महिना सम्मका ३३ र १६ देखि ५९ महिना सम्मका ७३ जना शिशु तथा बालबालिकाले पूर्ण खोप लगाएका स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका वडालाई पनि क्रमशः पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्दै जाने र फागुन मसान्तभित्र गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी रहेको छ ।

Similar Posts