कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारणका लागि पाथीभरा याङवरकद्धारा आचार संहिता जारी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २९ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कार्यस्थलको वातावरण सुरक्षित,मर्यादित र लैंगिक मैत्री बनाउन कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचार संहिता जारी गरेको छ ।

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार कार्यस्थलमा कर्मचारी,कामदार र सेवाग्राहीको संरक्षणकानिम्ति उक्त आचार संहिता स्थानीय राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याईएको हो । आचार संहितामा कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गर्न गराउन नहुने उल्लेख छ । उक्त कार्यलाई आचार संहिताले कसुरको रुपमा लिएको छ । पालिकाको कार्यालय,पालिका अन्तरगत रहेका वडा कार्यालय,शैक्षिक संस्था,स्वास्थ्य संस्था,कार्यालयसंग सम्वन्धित सेवा प्रदान गर्ने इकाई र कार्यालयबाट सञ्चालित क्रियाकलाप तथा योजना स्थललाई आचार संहिताले कार्यस्थलको रुपमा ब्याख्या गरेको छ ।

कसैले आफ्नो पद,शक्ति वा अधिकारको प्रयोग गरी कुनै किसिमको दबाब,प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य आशयले शरीरको कुनै अंग छोएमा वा छुने प्रयास गरेमा,अस्लिल तथा यौनजन्य क्रियाकलापसंग सम्वन्धित शब्दचित्र,पत्रपत्रिका,श्रव्यदृश्य,अन्य सूचना प्रविधि वा सामग्री प्रयोग र प्रदर्शन गरेमा त्यसलाई यौनजन्य दुर्व्यवहार मानिने आचार संहितामा भनिएको छ । यस्तै लेखेर,बोलेर वा इशाराले अस्लिल तथा यौनजन्य आशय प्रर्दशन वा प्रकट गरेमा,यौनजन्य आशयले जिस्क्याए वा हैरानी दिएमा र यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा पनि यौनजन्य दुर्व्यवहारको कसुर गरेको ठहर्ने आचार संहितामा भनिएको छ । तर, शैक्षिक सिकाई अध्ययन,अध्यापन,सूचनामुलक,अनुसन्धानमुलक,उपचार वा बचाउको सिलसिलामा कानुन बमोजिमको कर्तव्य पूरा गर्न असल नियतले गरिएको कुनैपनि काम कारवाहीलाई भने यौनजन्य दुर्व्यवहार गरेको नमानिने आचार संहितामा भनिएको छ ।

आचार संहिता पालिका प्रमुख देखि सबै तहका जनप्रतिनिधि,कर्मचारी,सेवाग्राही वा लाभग्राहीले पालना गर्नुपर्ने हुन्छ । आचार संहिता अनुसार पालिका प्रमुख देखि कर्मचारीले जारी आचार संहिताको पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी यसलाई अभिलेखीकरण गर्नुपर्ने व्यवस्था छ । कार्यालय परिसर,मुख्य प्रवेशद्धार तथा कार्यस्थलमा सबैले देख्नेगरी यौनजन्य दुर्व्यवहार निवारणमा सहयोग पुग्ने सचेतनामुलक सूचना वा पोष्टर टाँस्नुपर्ने जिम्मेवारी पालिकाको रहने छ । यस्तै सेवाग्राहीका लागि सुरक्षित स्तरको प्रतिक्षालय व्यवस्थापन गर्नुपर्ने,आवश्यक सुरक्षा व्यवस्था मिलाउनुपर्ने,लैंगिक सम्बेदनशिल भाषाको प्रयोग गर्नुपर्ने,कार्यकक्षमा सिसी टिभीको प्रयोग गर्नुपर्ने,आचार संहिता पालनाको अनुगमन गर्नुपर्ने र गुनासो पेटिकाको व्यवस्थापन गर्नुपर्ने दायित्व पालिकाको हुने छ ।

कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारका बारेमा आवश्यक परे तत्काल सुनुवाईका लागि पालिका उपाध्यक्षको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत,सामाजिक विकास समितिको संयोजक र कार्यपालिका सदस्यमध्येबाट कार्यपालिकाले तोकेका एक महिला सहित दुईजना सदस्य रहेको समिति बनाइने छ । समितिमा पालिकाको शिक्षा र स्वास्थ्य शाखाको प्रमुख र स्थानीय प्रहरी प्रमुख समेत सदस्य रहने छन् । पालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख तत्काल सुनुवाई समितिको सदस्य सचिव रहने छन् ।

गठित समितिले कार्यस्थलमा यौनजन्य दुर्व्यवहार भएको भनी पीडितले उजुरी गरेमा तत्काल सुनुवाई गरी राय सहितको प्रतिबेदन प्रमुख समक्ष पेश गर्नुपर्ने हुन्छ । प्रतिबेदनमा कसुर गरिएको कुनै संकेत सहितको राय प्राप्त भएमा प्रचलित कानुनको अधिनमा रही कानुनी प्रकृया अवलमबन गर्ने दायित्व प्रमुखलाई हुने छ । पीडितलाई उजुरी दिन पाउने हक समेत आचार संहितामा उल्लेख गरिएको छ भने उजुरीकर्ताको संरक्षण गर्दै कसुरका आधारमा मिलापत्र देखि आवश्यक कानुनी प्रकृया अवलम्बन गर्न सकिने आचार संहितामा उल्लेख गरिएको छ ।

Similar Posts