‘बार्ता र सम्बादमार्फत समस्या समाधान गरी केवलकार निर्माण गर्नुपर्छ’

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २८ । ताप्लेजुङको फुङलिङ नगरपालिका सहितका उपस्थित सरोकारवालाले बार्ता र सम्बादबाट समस्याको समाधान गर्दै केवलकार निर्माण प्रकृया अघि बढाउनुपर्ने राय व्यक्त गरेका छन् ।

पाथीभरा केवलकार निर्माणका बिषयमा सोमवार फुङलिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्रमा केवलकार निर्माण नभए ताप्लेजुङको विकास नै छोपिने तर्क गर्नुभयो ।‘नगरपालिकाले संयोजन गरेको यो पत्रकार सम्मेलनमार्फत म ‘नो केवलकार’भनिरहेका साथीहरुलाई आग्रह गर्छु,ताप्लेजुङको विकासप्रति तपाँईहरु पनि चिन्तित भइदिनुहोस्’करिव आधा घण्टा आफ्ना कुरा राख्नु भएका नगरप्रमुख मादेनले भन्नुभयो । उहाँले पाथीभरा(मुक्कुमलुङ)दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्र ढकाल सहित स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गरेर विकास निर्माणको जग बलियो बनाउनुपर्नेमा दलाल र माफिया भनेर हतोत्साहित गर्नु राम्रो बिषय नभएको बताउनुभयो । विकास निर्माणमा अवरोध भइरहने हो भने व्यवसायीहरु पलायन हुने,आर्थिक विकासले गति नलिने,समृद्ध समाज निर्माणको अभियानमा क्षयिकरण हुने भएकोले केवलकार निर्माणले स्थानीय रुपमै रोजगारी सृजना र अर्थतन्त्र बलियो बनाउन मद्यत पुग्ने उहाँको दावी थियो ।

नगरप्रमुख मादेनले केवलकार निर्माणको बिपक्षमा रहेकाहरुलाई‘तपाँईहरुका पनि सन्तान छन्,विकासको मोडेलमा अवरोध गरेर सन्तानको भबिष्य संकटमा पार्नुहुन्न’भन्ने सुझाव पनि दिनुभयो । भक्तजनहरुको सुबिधाको असल माध्यम र अर्थतन्त्रको विकास एकसाथ अघि बढाउने उद्देश्यले केवलकार निर्माण गर्नैपर्ने उहाँको दावी थियो । माता कसैको र मठमन्दिर कुनै जात,धर्म,संस्कार र संस्कृति मात्रैको पेवा नहुने बरु सबैको साझा हुने भएकोले प्रकृतिको संरक्षण र संस्कृतिको विकासका लागि केवलकार बन्नुपर्ने मादेनको भनाई थियो । उहाँले केवलकार निर्माण आधुनिक युगको विकास र सबैभन्दा कम प्राकृतिक क्षतिबाट पूरा हुने साधन भएको दावी गर्नुभयो ।

मादेनले केवलकार निर्माणका क्रममा पाथीभरा डाँडालाई भत्काउने,लडाउने र प्राकृतिक हिसावले नयाँ स्वरुपको बनाउने नभएकोले केवलकार निर्माणबाट संस्कृति,प्रकृति र मुन्मुधीस्थल मासिने भन्ने गलत तर्क मात्र रहेको बताउनुभयो ।‘मलाई तपाँईहरुले गाली गर्नु भएको,धेरै आलोचना गर्नु भएको छ’नो केवलकार पक्षधरहरुप्रति संकेत गर्दै मादेनले भन्नुभयो‘तपाँईहरुले अब चिन्ता लिने भनेको विकासको हो,भावी पुस्ताको र समृद्ध ताप्लेजुङको हो’ । उहाँले केवलकार निर्माणले ३ हजार ५ सय घरधुरी बिस्थापन हुन्छ,स्थानीयका रोजीरोटी खोसिन्छ जस्ता गलत भाष्य स्थापित गरेर विकासको एजेण्डा माथि धावा बोलिनु राम्रो बिषय नभएको दावी गर्नुभयो । उहाँले सार्थक बार्तामा बसेर समस्या समाधान सहित केवलकार निर्माण प्रकृया अघि बढाउनुपर्ने नगरपालिकाको धारणा रहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने,वडा नं ३ का वडाध्यक्ष टंक पालुङ्वा,वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा,वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज),वडा नं ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला,वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङ,वडा नं ११ का वडाध्यक्ष युवराज भट्टराई सहितले लडाई र झगडा बेगर केवलकार निर्माण हुनुपर्ने तर्क राख्नुभयो । प्रकृति र संस्कृतिको संरक्षण र जर्गेना गर्दै केवलकार निर्माण हुनुपर्ने पक्षमा आफुहरु रहेको वडाध्यक्षहरुको मत थियो ।

पत्रकार सम्मेलनमा पूर्व नगर उपप्रमुख बमबहादुर भट्टराई, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ,ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बू,गैर सरकारी संस्था महासंघका अध्यक्ष खड्गबिक्रम सुबेदी,इसाई समाजका अर्जुन कार्की सहितले शान्तिपूर्ण र सहज रुपको लगानीमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिनुभयो । विकासका लागि लगानी प्रोत्साहित गर्नुपर्ने,लगानीमैत्री वातावरणमा सबैले ध्यान दिनुपर्ने,विकासमा बिभाजन होईन,एकमत हुनुपर्ने राय सरोकारवालाको थियो । उहाँहरुले बार्ता र सम्बादकै माध्यमबाट केवलकार निर्माण प्रकृया अघि बढाउनुपर्ने बताउनुभयो ।

 

Similar Posts