पाथीभरा केवलकार बिबाद:२७ गते हुने वार्ता सार्थक र समाधान उन्मुख हुने इन्सेकको अपेक्षा

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २६ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न इन्सेकले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयले पाथीभरा क्षेत्रमा निर्माण हुने केवलकारका विषयमा विकसित घटना क्रम तथा माघ १२ गते गोलीप्रहारलगायतका विषयमा स्थलगत अनुगमन र अध्ययन गरी सार्थक वार्ताबाट समस्या समाधानका लागि दुवै पक्षलाई विज्ञप्तिमार्फत शनिवार आग्रह गरेको हो । इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा ताप्लेजुङ जिल्लाको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको विषयमा उत्पन्न विवादमा सरकार र आन्दोलनरत पक्षबिच माघ २२ गते भएको ६ बुँदे सहमतिको इन्सेकले स्वागत गरेको छ ।
आन्दोलनरत पक्ष र नेपाल सरकारबिच माघ २७ गते हुन लागेको वार्ता सार्थक र समाधान उन्मुख हुने इन्सेकको अपेक्षा रहेको विज्ञप्तिमा भनिएको छ । वार्ताको पूर्व सन्ध्यामा आन्दोलनरत पक्षको मन्त्रीस्तरीय वार्ताको मागले स्थिती अन्योलग्रस्त बन्ने अवस्था रहेको इन्सेकले जनाएको छ । ‘सबै खाले असहमतिहरू सम्वादकै माध्यमबाट समाधान हुुने भएकोले वार्ताका लागि लचिलो बन्न हामी दुबै पक्षसँग अनुरोध गछौँ’इन्सेकको विज्ञप्तिमा उल्लेख छ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा क्षेत्रमा केवलकार खारेजी समूह र सुरक्षाकर्मीबिच उत्पन्न विवाद र विकसित घटनाक्रमका बारेमा इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले माघ २१ देखि तीन दिनसम्म स्थलगत अध्ययन र अनुगमन गरेको थियो ।
केवलकार निर्माण खारेजीको माग गर्दै आएको समूह र सुरक्षाकर्मीबिच गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडा क्षेत्रमा भएको झडप र गोली प्रहार घटनाका घाइते,सम्वद्ध पक्ष,स्थानीय, प्रत्यक्षदर्शी,राज्यका निकाय र सञ्चारकर्मी लगायत सरोेकारवाला पक्षसँग भेट गरी घटनाका विषयमा इन्सेकले विवरण र तथ्याङ्क सङ्कलन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । बलुडाँडा क्षेत्रमा माघ १२ गते आन्दोलनरत पक्षले प्रदर्शनलाई काबुमा राख्न नसक्दा र राज्यका निकायले उपयुक्त संयमता नअपनाउँदा हिंसात्मक घटना भएको स्थलगत अनुगमनका क्रममा देखिएको विज्ञप्तिमा उल्लेख छ ।
घटनामा सुरक्षाकर्मीको गोली प्रहारबाट घाइते दुई जनासहित अश्रुग्याँस,लाठी प्रहारबाट घाइते पाँच जना प्रदर्शनकारीहरू तथा आन्दोलनरत पक्षको ढुङ्गा प्रहारबाट घाइते नेपाल प्रहरीका १२ जना र सशस्त्र प्रहरीका नौ जना सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना इन्सेकले विज्ञप्तिमार्फत गरेको छ । पाथीभरा क्षेत्रमा उत्पन्न विवादमा“विकासको अधिकारसँगै नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक र वातावरणीय अधिकारको संरक्षण र सम्वद्र्धन गर्नु राज्यको पहिलो जिम्मेवारी र दायित्व हो भन्ने हाम्रो बुझाइ छ ।” जारी विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनरत पक्षले आफ्ना माग पूरा गराउन एक साता लामो (चौबिस घण्टे) यातायात बन्दका कारण सर्वसाधारणको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार कुण्ठित भएको इन्सेकले जनाएको छ । राज्यसँग भएका सहमति बमोजिम घटनामा घाइते भएकाहरूको उपचार तथा रिहाइ समस्या समाधानको प्रयास मान्न सकिने आधार भएको इन्सेकले जनाएको छ । आगामी दिनमा उत्पन्न हुनसक्ने परिस्थितीलाई गम्भीरतापूर्वक लिइ राज्यले समुदायसँग सरोकार राख्ने निर्णयहरूमा सहभागी गराएर समस्या सम्बोधन गर्न नितान्त आवश्यक छ, विज्ञप्तिमा भनिएको छ ।
विकास र मानव अधिकार आधारभूत विषय भएकाले विकास निर्माणका क्रममा आएको असहमतिलाई पहिचान गरी सार्थक सम्वाद र छलफलबाट विवाद टुङ्ग्याउन एवम् अधिकारमा आधारित विकास प्रक्रियालाई दिगो बनाउन नेपाल सरकारसँग इन्सेक विज्ञप्तिमार्फत माग गरेको छ । आन्दोलनरत पक्षले शान्तिपूर्ण ढङ्गमा आफ्ना माग राख्न पाउने भएकाले द्वन्द्व, घृणा र सामाजिक सद्भावविरूद्धका कार्य नगर्न इन्सेकले आन्दोलनरत पक्षसँग आग्रह गरेको छ ।