ताप्लेजुङ प्रहरी प्रमुख रावलका १० महिना:लागु औषध दुर्व्यसनी रोकथाम देखि अलपत्र यात्रुको उद्धार सम्मका कार्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १८ । गत चैतको दोस्रो साता ताप्लेजुङको प्रहरी प्रमुख भएर आएका डिएसपी रवि रावलले कार्यभार सम्हालेपछि जिल्लागत अवस्थाको विश्लेषण गर्नुभयो । लागुऔषध दुर्व्यसनीहरुको संख्या अचाक्ली बढेको तथ्याङ्क भेटेपछि उहाँको ध्यान त्यसको निवारणतर्फ केन्द्रित थियो । लागु औषध आयात र प्रयोगकर्ताहरुको खोजीलाई तीव्र बनाउँदै उहाँ नेतृत्वको प्रहरी टोलीले करिव डेढदर्जन लागु औषध दुर्व्यसनीहरुलाई नियन्त्रणमा लियो ।
लागु औषधको समस्या निवारणका लागि प्रयोगकर्ताहरु माथिको निगारानी मात्र पर्याप्त थिएन । त्यसका लागि सामुदायिक अनुशिक्षणको कार्यक्रम समेत अनिवार्य भएको महशुष रावलले गर्नुभयो । उहाँले ताप्लेजुङ जिल्लाभर रहेका प्रहरी युनिटहरुलाई ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’मार्फत लागुऔषध न्यूनीकरण,अनियन्त्रित मदिरापान नियन्त्रण र शान्ति सुरक्षा सहितका बिषयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुभयो ।
रावलका अनुसार यो कार्यक्रम युनिटले कार्यतालिका बनाएरै नियमित सञ्चालन गरिरहेको छ । सवारी चालकहरुले मादक पदार्थ सेवन गरी सवारी चलाएको नतिजा ट्राफिक प्रहरीले पत्ता लगाएपछि रावलले जिल्ला ट्रापिक प्रहरी कार्यालयलाई चेकजाँचमा कडाई गर्न निर्देशन दिनुभयो । मादक पदार्थ सेवन गरे–नगरेको परीक्षण गर्ने उपकरण थिएन । ब्रेथलाइजर मेसिनको व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयकोतर्फबाट पाथीभरा क्षेत्र विकास समितिलाई अनुरोध गरे अनुसार क्षेत्र विकास समितिकोतर्फबाट दुईथान ब्रेथलाइजर मेसिन प्राप्त हुँदा एकथान सदरमुकाम फुङलिङ केन्द्रित गरी एकथान पाथीभरा क्षेत्रमा रहेको पर्यटक प्रहरी सहायता केन्द्रमार्फत व्यवस्थापन हुन थालेको छ ।
‘डिएसपी सावले ब्रेथलाइजर माग गर्दै अनुरोध पत्र लेखेपछि हामीले पाथीभरा क्षेत्रमा समेत सहयोग हुने देखेपछि अत्याधुनिक ब्रेथलाइजर मेसिन खरिद गरी हस्ताक्षर गरेका हौं’क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले भन्नुभयो । हाङवाङका अनुसार पाथीभरा क्षेत्रमा सञ्चालित सवारी चालक देखि पाथीभरा क्षेत्रमा यात्रु सहयोगी(भरिया) समेतलाई जाँच गर्न पाथीभरा क्षेत्रमा राखिएको ब्रेथलाइजरले ठूलो सहयोग पुर्याएको छ । क्षेत्र विकास समितिका अनुसार पाथीभरा क्षेत्रमा पैदल मार्गबाट आफैं हिंडेर जान नसक्ने तीर्थालुलाई त्यहाँ रहेका तीर्थालु सहयोगीले बोकेर पाथीभरा मन्दिर सम्म पुर्याउँछन् । पाथीभरा क्षेत्रमा यस्तो संख्या करिव तीनसय हाराहारी रहेको हाङवाङले जानकारी दिनुभयो ।
फैसला कार्यान्वयनलाई न्यायको प्रमुख आधार मानिन्छ । जिल्ला प्रहरी कार्यालयले फैसला कार्यान्वयनमा समेत उचित सफलता पाएको देखिएको छ । लिखित सम्वन्धी कसुर मुद्दाका फरार प्रतिवादी २९ बर्षपछि गत भदौ ३ गते पक्राउ परे । डिएसपी रावलका अनुसार २०५२ साल वैशाख २६ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको पत्र जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी निज देवीप्रसाद इजम पक्राउ परेका हुन् । घटना लगत्तै अभियुक्त पक्राउ,फरार प्रतिवादी पक्राउको कार्यमा जिल्ला प्रहरी कार्यालयले कार्ययोजना बनाएरै कार्यान्वयन गर्दै आएको बताएको छ । ‘फैसला कार्यान्वयनले मात्र कानुनको कार्यान्वयनमा पूर्णता हासिल हुने भएकोले यसमा प्रहरीको क्रियाशिलता जरुरी हुन्छ’नेपाल बार एशोसिएशन ताप्लेजुङ वार ईकाईका अध्यक्ष बलराम भट्टराईले बताउनुभयो ।
नागरिक–प्रहरी सम्वन्धले अपराधा नियन्त्रणमा टेवा पुग्ने देखेपछि प्रहरीले नागरिक–प्रहरी साझेदारीका कार्यक्रम अघि सारेको छ । जस अनुसार स्थानीय तह समेतको समन्वयमा नागरिकका गुनासो सुन्नेगरी नागरिक सुनुवाई कार्यक्रम,सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तर अघि बढाएको समेत प्रहरीले जानकारी दिएको छ । सूचनालाई व्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई प्रवक्ता तोकी आम सञ्चारसंस्थाहरुलाई ताप्लेजुङ प्रहरीले सहजीकरण गरिरहेको छ । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यले पछिल्लो समय प्रहरीले सूचना डेस्क स्थापना गरी आम सञ्चार संस्थामा जानुपर्ने सूचनाहरुको प्रभावकारी व्यवस्थापन गरेकोमा जिल्ला प्रहरी कार्यालयको नेतृत्वप्रति आभार प्रकट गर्नु भएको छ ।‘एकीकृत र व्यवस्थित ढंगले सूचना प्रवाह हुँदा हामी सञ्चारकर्मीहरुलाई समेत ठूलो राहत मिलेको छ’आचार्यले थप्नुभयो ।
मुक्कुमलुङ संरक्षणको आन्दोलन जारी रहेको समयमा अलपत्र परेका यात्रुको उद्धारका लागि ताप्लेजुङ प्रहरीले सहयाता केन्द्र स्थापना गरी सहयोग गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार बन्दको तीनदिनको अवधिमा मात्रै अलपत्र परेका १ सय ४८ जना यात्रुलाई प्रहरीले आफ्नो सहयाता कक्षमार्फत उद्धार गरी गन्तव्यमार्फत पठाउन सहजीकरण गरिएको छ । पाथीभरा क्षेत्रमै पनि त्यहाँ रहेको पर्यटक प्रहरी सहयाता केन्द्रमार्फत तीर्थालुलाई सवारी र सुरक्षा सहजीकरण गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।