एकता,सद्भाव र भातृत्व कायम राख्न ताप्लेजुङ प्रशासनको आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १४ । जिल्ला सुरक्षा समिति ताप्लेजुङले एकता,सद्भाव र सदियौंदेखि कायम रहेको भातृत्वको भावना जीवन्त राख्ने कार्यमा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै एकता,सद्भाव र सदियौंदेखि कायम रहेको भातृत्वको भावना जीवन्त राख्ने कार्यमा जिल्लामा क्रियाशिल सब राजनीतिक दल,जनप्रतिनिधि,संघसंस्था,नागरिक समाज र सरोकारवालाई अनुरोध गर्नु भएको छ । पाथीभरा क्षेत्रमा माघ १२ गते भएको झडपका सन्दर्भमा स्थानीय प्रशासनकातर्फबाट विज्ञप्ति जारी गर्दै सुरक्षा समितिले घटनाका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको हो ।

प्रजिअ शर्माले जारी गरेको विज्ञप्तिमा जिल्लाको शान्ति सुव्यवस्था कायम गर्ने दिशामा सदाझैं आम जिल्लावासीको सहयोगको अपेक्षा गरिएको छ । नागरिकको जीउधन र नागरिकको स्वतन्त्रताको संरक्षण गर्ने कार्यमा स्थानीय प्रशासन थप सजग,सर्तक र प्रतिबद्ध भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय प्रशासनले पाथीभरा क्षेत्रमा भएको झडपका क्रममा घाइते प्रहरी कर्मचारी र प्रर्दशनकारीकातर्फबाट घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । उक्त घटनामा प्रहरीतर्फ २१ जना घाइते भएकोमा १४ जना प्राथमिक उपचार पश्चात आराम गरिरहेको र प्रहरी निरीक्षक सहित ७ जना प्रहरी कर्मचारीको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको स्थानीय प्रशासनले विज्ञप्तिमा भनेको छ ।

केवलकार निर्माणको बिरोधमा रहेका घाइते ४ जनाको प्राथमिक उपचार पछि थप उपचार गर्नुपर्ने तीनजनाको नोवेल अस्पताल बिराटनगर हुँदै त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा थप उपचार भइरहेको समेत प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले विज्ञप्तिमा विगत देखि अवस्था बताउँदै माघ १२ गते शनिवार एरिया डोमिनेसनको क्रममा गस्ति गर्दै अघि बढेको नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालको संयुक्त गस्तिका कमाण्डर प्रहरी निरीक्षक सहितको टोलीमाथि केवलकार निर्माणको बिरोध गरिरहेको समूहबाट आक्रमण सुरु भएपछि आत्मरक्षाको अन्तिम विकल्पको रुपमा फायर खोलिएको दावी गरेको छ । केवलकार निर्माणको बिरोध गरिरहेको पक्षले भने शान्तिपूर्ण आन्दोलनको तयारी भइरहेको समयमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली,लाठी र मुङ्ग्री बर्साएको दावी गरेका छन् ।

 

Similar Posts